२० बैशाख २०७३, सोमबार

 मान्छेको एउटा पुस्ता गरिब हुनसक्छ, तर सप्तरीका मुसहर परिवार पुस्ताैंदेखि गरिबै छन् । मुलुकमा धेरै शासन व्यवस्था परिवर्तन भए, मुसहर समुदायको गरिबीमा कुनै बदलाब आएन ।

010520160923581-29041-1-mushar-1-1000x0सप्तरीको बभनगामाकट्टी–३ तोपाका बमभोलि सदा ५० वर्ष पुगे । उनका बुबा बेचन सदाको जवानी र बुढ्यौली गाउँकै सम्पन्न व्यक्तिको घरमा नोकरी गर्दै बित्यो । पाँच वर्षअघि संसार छाड्नुअघिसम्म बेचन अरूको घरमा काम गर्थे । बमभोलिको पनि जवानी अरूकहाँ गाईगोरु चराउँदै, गोबर सोहोर्दै बित्यो ।

उनका दिवंगत भाइ सकुन्ताले पनि अन्तिम समयसम्म मजदुरी र नोकरी गर्दै बिताए । मजदुरीका क्रममा भारतको पञ्जावमा मेसिनमा काटिएर सकुन्ताको दुई वर्षअघि ज्यान गयो । बेचनका पाँच छोरामध्ये बमभोलि र सकुन्ता मात्र होइन हरि, जिलेबी र महेन्द्र सदा सबै मजदुरी या नोकरी गर्दै गुजारा चलाइरहेछन् ।

बमभोलिका हजुरबुवा झमेली पनि गाउँमा नोकरी गर्दागर्दै बितेका थिए । बमभोलिका छोरा पनि ट्रयाक्टरमा मजदुरी गरिरहेका छन् । सदा परिवारको यो चारपुस्तेमा कोही पढेलेखेका थिएनन् र छैनन् । ‘हामी त पुस्तौंदेखि अरूकोमा नोकरी गर्दै आएका छौं, जसोतसो खान पुगेको छ,’ बमभोलिले भने, ‘गरिबका गरिब नै रह्यौं ।’

सोही ठाउँका ८० वर्षीय दुलार सदा जीवनको उत्तराद्र्धमा छन् । उनका बुबा पाचु र हजुरबुबा फागु सदा पनि गाउँमै नोकरी गर्थे । दुलारले पनि बुद्ध हुनुअघिसम्म माटो काट्ने काम गरे । दुलारका भतिजा भुटाई सदा पनि अहिले मजदुरी गरिरहेछन् । ‘हाम्रो परिवारमा हजुरबुबाको पालादेखि अहिले मेरो पालासम्म कुनै भिन्नता छैन, दिनभर कमायो, राति खायो, फेरि बिहान उस्तै ।’

‘भाग्य नै यस्तो रहेछ, के गर्ने ?’ दुलारले भने, ‘चार/पाँच पुस्तादेखि देखिरहेछौं, कहिल्यै उँभो लाग्न सकिएन, अब त जसोतसो पेट पाल्न सक्नु नै सफलता ठानेका छौं ।’ बमभोलि र दुलारका परिवार मात्र होइन, गाउँमा रहेका सबै ७० परिवार मुसहरको अवस्था यस्तै छ ।

कोही नोकरी गरिरहेका छन् त कोही रिक्सा चलाउँदै वा ट्रयाक्टरको काम या मजदुरी । यी परिवारमध्ये प्राय: सुकुम्बासी छन् । केही अरूकै जग्गामा घर बनाएर बसेका छन् त कोही ऐलानी वा कोसी नहर डिलमा बसोबास गरिरहेछन् ।

‘चुनावका बेला भोट माग्न आउने नेताले धेरै लम्बाचौडा भाषण गरेर जान्छन् तर हाम्रो समुदायको अवस्था उकास्न कोही फर्केर आउँदैनन्,’ टोलका अगुवा देवन सदाले भने । यी समुदायको मूल समस्या भूमि हो । आफ्नो जग्गा नहुँदा राज्यबाट दिइने धेरै सेवा सुविधाबाट वञ्चित हुनुपरेको स्थानीय बुलन सदाले बताए ।

तराई–मधेसमा सधैं गरिबकै सूचीमा रहने मुसहर समुदाय परम्परागत पेसाबाट माथि उठ्न नसक्दा सधैं गरिब नै रहने जानकारहरूको भनाइ छ । मुसहर समुदाय दलितको श्रेणीमा सूचीकृत छन् । तराईमा व्याप्त कथित उच्च र तल्लो जातको संस्कारका कारण मुसहर समुदाय अपहेलित भएर बस्नुपर्दा पीडित हुनुपरेको त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा लामो समय समाजशास्त्र प्राध्यापन गरेका प्रभाकरलाल दासको भनाइ छ ।

आर्थिक, सामाजिक र राजनीतिक रूपमा सधैं पछाडि पारिएका कारण मुसहर समुदाय अगाडि आउन नसकेको उनले बताए । ‘आर्थिक स्तर बढ्न नसक्दा शैक्षिक र सामाजिक दुवै स्तरमा पछि परेका हुन्,’ उनले भने, ‘सधैं पछाडि परेको र पारिएको यो वर्गलाई उठाउने राज्यको पहल पनि जिम्मेवार देखिएन ।’

लामो समयसम्म त्रिविमा इतिहासका प्राध्यापक रहेका हरिकान्तलाल दासको भनाइमा मुसहर समुदाय समाज र राज्यबाट सधैं उपेक्षित रहेका कारण माथि उठ्न नसकेका हुन् । उनले भने, ‘राज्यले पनि कागजमै सीमित गर्‍यो, समाजका उच्च वर्गले पनि मुसहरलाई उपेक्षाकै नजरले हेर्‍यो, जसको परिणाम यी समुदाय पुस्ता दरपुस्ता गरिबका गरिब नै रहे ।’

पत्रकारसमेत रहेका जनकपुरका सामाजशास्त्री सुजितकुमार झाका अनुसार मुसहर समुदाय माटो काट्ने, मजदुरी गर्नेलगायत परम्परागत पेसाबाट माथि उठ्न नसक्दा उनीहरूको आर्थिक सवलीकरण हुन नसकेको हो । ‘एक त परम्परागत पेसा छाड्न सकेका छैनन्, दोस्रो शिक्षामा पहुँचको अभाव र चेतना कमी यो समुदायलाई पछाडि पार्ने प्रमुख कारण हो,’ झाले भने ।

स्थानीय जनता मावि तोपाको व्यवस्थापन समिति सदस्यसमेत रहेकी दसनीदेवी सदाले मुसहर समुदाय शिक्षामा पनि पछाडि रहेको बताइन् । पछिल्लो समय विद्यालय पठाउने दरमा वृद्धि भए पनि अझै पनि धेरै बालबालिका विद्यालय बाहिर रहेको उनको भनाइ छ ।

उनका अनुसार बाबुआमाले छोराछोरीलाई घरमै राख्ने, विद्यालय नपठाइदिने गरेका कारण समुदायको शैक्षिक उन्नति हुन नसकेको हो । टोलटोल, घरघरमा गएर बालबालिकालाई विद्यालय पठाउन आग्रह गरिए पनि धेरै अभिभावकले सानैमा काममा लगाउने र विद्यालय नपठाइदिने गरेको उनले बताइन् ।

बेरोजगारी समस्याले पनि नराम्ररी गाँजेको छ यो समुदायलाई । शिक्षा कमीका कारण मजदुरी नै एकमात्र सहारा रहे पनि मजदुरी गरेर परिवार पाल्न मुस्किल हुने र सोचेजस्तो रोजगारी पनि नपाइने भएकाले मुसहर समुदायमा बेरोजगारी समस्या बढदै गएको स्थानीय नथुनी सदाले बताए ।

सीमित संख्यामा वैदेशिक रोजगारीमा पनि गएका छन् । तर रोजगारीबाट कमाएर ल्याएको पैसा पनि उत्पादनमूलक क्षेत्रभन्दा विलासिताको सामान खरिदमै लगाउने गरेका कारण आर्थिक अवस्था उस्तै रहेको हो ।

मुसहर बस्ती पुग्दा अधिकांश बालबालिका नाङ्गै देखिन्छन् । नाङ्गै शरीर भुइँमा खेलिरहने नियतिझैं भएको छ यो समुदायका बालबालिकाको । आर्थिक विपन्नताले बालबालिकालाई शरीर ढाक्ने कपडासमेत पर्याप्त रूपमा दिन सक्ने अवस्थामा छैनन् अधिकांश मुसहरहरू । जाडो महिनामा पनि यी समुदायका बालबालिका चिसो भुइँमा गुन्द्री आढेर दिनरात काट्छन् ।

कपडा मात्र होइन, खानाको समस्या पनि त्यस्तै छ । मजदुरी गर्ने परिवारमा केही भएर एक दिन काममा नगए भोकै बस्नुपर्ने पीडा रहेको बमभोलिले बताए  ।

आर्थिक र शैक्षिक रूपमा समस्यामा रहेका मुसहर समुदायलाई राजनीतिमा पनि अवसरबाट वञ्चित गरिएको अगुवाहरूको भनाइ छ । सद्भावना पार्टीका नेता रहेका देवन सदा भन्छन्, ‘केही दलमा सामान्य पदमा राख्नेबाहेक मुसहर समुदायलाई राजनीतिक अवसरबाट वञ्चित गरिएको छ ।’ उनका अनुसार मुसहर समुदायलाई दलहरूले चुनावका बेला भोट बैंकका रूपमा प्रयोग गर्ने र चुनाव सकिएपछि बिर्सिने गरेका छन् ।

मुसहर समुदायबाट राजनीतिमा पछिल्लो समय सबभन्दा उचाइको पदमा पुगेका छन् सप्तरीमा अर्सफी सदा । जनमोर्चा नेपाल हँुदै तत्कालीन नेकपा माओवादीमा प्रवेश गरेका असर्फी अन्तरिम कालमा माओवादीबाट मनोनीत सभासद बनेका थिए । उनी अहिले एमाओवादीका सप्तरीका नेता हुन् ।

कुपोषण र मृत्युदर उच्च
समस्यै समस्याले पीडित मुसहर समुदायमा कुपोषण र मृत्युदर उच्च पनि छ । पूर्वसभासद असर्फी सदाका अनुसार नेपालमा सरकारी तथ्यांकअनुसार एक लाख ९३ हजार मुसहर छन् । तर आर्थिक विपन्नताले पोषणयुक्त खाना खान नसक्दा मुसहर समुदायका बालबालिका कुपोषित हुने क्रम बढिरहेको छ । कुपोषणकै कारण बालबालिका र महिला मृत्युदर पनि उच्च छ ।

परम्परा कायमै
आर्थिक विपन्नता र अज्ञानताका कारण मुसहर समुदाय विगतको परम्परालाई अझै धान्दै छन् । मजदुरी गर्नेबाहेक माछा मार्ने, मंसिरमा खेतमा दुलो खोज्दै मुसा मार्ने गर्छन् ।

दुलार भन्छन्, ‘के गर्ने अन्यत्र रोजगार पाउन मुस्किल भएपछि माछा मार्न र मुसाको दुलो खोज्ने पुरानो परम्परा अँगाल्न बाध्य छन् ।’ स्थानीय भुलन सदाले भने, ‘छोराछोरी पढ्न सकेनन्, अहिले मजदुरीबाहेक माछा मार्ने र मुसा खोज्नुबाहेकको विकल्प नै छैन ।’ मुसहर समुदायका महिला पनि वर्षौंदेखि अर्काको खेतमा बनिबुतो गर्दै आएका छन् ।

http://bit.ly/1SWqWiu

http://bit.ly/1SWqWiu

LIVE TV