१९ बैशाख २०७३, आईतवार

mohan-baidhya-badalविभाजित माओवादी धाराका पार्टीहरूबीच एकताको बहस सुरु भएका वेला मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी भने विभाजनको संघारमा पुगेको छ। अध्यक्ष वैद्य र वरिष्ठ नेता रामबहादुर थापा बादल पक्षबीच एमाओवादीसँग तत्काल एकता गर्ने विषयमा देखिएको विवादले पार्टी विभाजनको अवस्थामा पुगेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

केन्द्रीय समिति बैठक २८ चैतबाट स्थगित छ। वैद्यले बैठक बोलाउनै चाहेका छैनन्। बादल पक्षले भने तत्काल केन्द्रीय समिति बोलाएर एकताको निर्णय लिनुपर्ने दबाब दिएको छ।

वैद्यको योजनामा बादल पक्षको विरोध

केन्द्रीय समितिको स्थगित बैठक होइन, संगठन विभाग वा पार्टी सचिवालयमध्ये एकको बैठक बोलाउने योजनामा वैद्य छन्। यी दुवै कमिटीमा उनी बहुमतमा छन्। १५ सदस्यीय संगठन विभागमा सिपी गजुरेल, हरिभक्त कँडेल, इन्द्रमोहन सिग्देल, परी थापा, सीताराम तामाङ, रामसिंह श्रीष र प्रेम पौडेल वैद्यको पक्षमा छन्। वैद्यले संगठन विभागबाटै विवादित विषय टुंग्याउन चाहेका छन्।

संगठन विभागको बैठक बोलाउन नसके केन्द्रीय सचिवालय बैठक बोलाएर विवादका विषयमा आफूअनुकूलको निर्णय गराउने पक्षमा वैद्य छन्। ३५ सदस्यीय सचिवालयमा परी थापाको नेतृत्वमा पार्टी एकतामा आएका नौ नेतासहित २० सदस्य वैद्यको पक्षमा छन्।

तर, केन्द्रीय समिति बैठक स्थगित भएका वेला बोलाइने अन्य बैठकको निर्णय वैधानिक नहुने भन्दै बादल पक्षले वैद्यको प्रस्ताव अस्वीकार गरेको छ।

LIVE TV