१९ बैशाख २०७३, आईतवार

विकास निर्माण सुस्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अढाइ महिनामा ८० प्रतिशत खर्च हुने गरी काम गर्न सचिवहरूलाई निर्देशन दिएका छन् । मुख्य सचिव, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसहित सबैजसो मन्त्रालयका सचिव सहभागी कार्यक्रममा उनले बजेट खर्च नभएकोमा चासो राख्दै ताकेता गरेका हुन् ।

kp oli1प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार ‘चालू आवको बजेट कार्यक्रमको प्रगति तथा कार्यान्वयका चुनौती’ विषयक कार्यक्रममा ओलीले चैतभित्र विकास खर्चको प्रगति १८ प्रतिशतमात्र रहनु दुर्भाग्यपूर्ण भएको बताए ।

“पुनर्निर्माणलाई तीव्रता दिन र व्यक्तिगत आवास तत्काल बनाउन सम्भव नभएको ठाउँ र स्थितिमा सार्वजनिक भवन (विद्यालय तथा अन्य निकायका आवास) बनाई भूकम्पपीडितलाई वर्षाअघि नै सुरक्षित राख्नुपर्छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले भने, “पुँजीगत खर्चको रफ्तार वृद्धि गरी विकास निर्माणलाई गुणस्तरीय र प्रभावकारी बनाउन आवश्यक छ ।”

महालेखा नियन्त्रका कार्यालयका अनुसार वैशाख १६ सम्म विनियोजित बजेटको ३९.१३ प्रतिशतमात्रै खर्च भएको छ । त्यसमध्ये पुँजीगत खर्च विनियोजित बजेटको १९.३९ प्रतिशत छ भने चालू खर्च ४८.१९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३७.०२ प्रतिशत खर्च भएको छ । चालू वर्ष ८ खर्ब १९ अर्ब ४६ करोड बजेट विनियोजन भएकोमा चालू खर्च ४ खर्ब ८४ अर्ब २६ करोड, पुँजीगत खर्च २ खर्ब ८ अर्ब ८७ करोड (पुनर्निर्माणका मन्त्रालयगत १७ अर्ब र पुनर्निर्माण प्राधिकरणमार्फत ७४ अर्ब गरी ९१ अर्बसमेत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब २६ अर्ब ३२ करोड रुपैयाँ विनियोजन भएको थियो । आजको कारोबार दैनिकमा खबर छ ।

 

LIVE TV