१८ बैशाख २०७३, शनिबार

इलाम, १८ वैशाख । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्कमा रूखले किचेर मोटरसाइकलमा सवार सुनसरीका एक युवकको आज दिउँसो ज्यान गएको छ ।

सुनसरीबाट इलाम सदरमुकामतर्फ आउँदै गरेको को २२ प ७०४ नम्बरको मोटरसाइकलका चालक सुनसरी बक्लौरी–६ का विकेश परियारको रूखले किचेर ज्यान गएको हो । उनीसँगै मोटरसाइकलमा सवार अर्का मोरङ तेतरिया–८ का हेमनारायण चौधरी सामान्य घाइते भएका छन् । घाइतेको इलाम अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ ।

इलाम नपा–५ स्थित भूपाल चौहानको बारीमा रूख ढाल्ने क्रममा परियारलाई रूखले किचेको थियो । प्रहरीले रूख धनी चौहान र रूख ढाल्ने पदमबहादुर बराईलीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिनुभयो ।
यसैगरी, इलामको समालबुुङ–८ रमितेडाँडामा आज एक स्थानीयले प्रहरी चौकी समालबुङका इञ्चार्जलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।

प्रहरी चौकी समालबुङमा कार्यरत प्रहरी सहायक निरीक्षक इन्तनाथ प्रधानलाई स्थानीय ४० वर्षीय कृष्णबहादुर बम्जनले मदिरा सेवन गरी खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट प्रसनि प्रधानको टाउकोमा गहिरो चोट लागेको छ । घाइते प्रधानलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको छ ।

खुकुरी प्रहार गर्ने बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । रासस

 

LIVE TV