१८ बैशाख २०७३, शनिबार

प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे क्षेत्रमा भीषण आगलागी भएको छ । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थल तथा जैविक विविधताले भरिपूर्ण मानिने पञ्चासे संरक्षित वनमा गएरातिदेखि भीषण आगलागी भएको हो । उक्त आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

आगलागीका कारण उक्त क्षेत्रमा पाइने लोपोन्मुख जडीबुटी, तथा जनावर सङ्कटमा पर्ने खतरा बढेको छ । पाँच हजार ५ सय हेक्टरमा फैलिएको वनमा डढेलो लागेको हो । डढेलोबाट पञ्चासे वन क्षेत्रमा पाइने १२ प्रकारका वन, १५० प्रकारका औषधिजन्य बोट, ११३ प्रजातिका सुनगाभा, आठ प्रकारका रेशादार वनस्पति, ५८९ प्रकारका फूल फुल्ने वनस्पतिलगायतका अमूल्य वनस्पति र जङ्गली जनावर तथा चराचुरुङ्गीसमेत जोखिममा परेका छन् ।

आगो निभाउनका लागि पर्वतस्थित नेपाली सेना, सशस्त्र प्रहरी बल र डिमुवा प्रहरी चौकीका प्रहरीको टोली निरन्तर खटिएको भए पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । नजिकमा पानीको स्रोत नभएको र भएका मूलसमेत खडेरीका कारण सुकेकाले आगो नियन्त्रणमा लिन समस्या भएको प्रहरीले जनाएको छ ।

LIVE TV