१७ बैशाख २०७३, शुक्रबार

नेपाली सेनाले विपद् व्यवस्थापन क्षमता अभिवृद्धि अन्तर्गत तीन वटा हेलिकप्टर र एउटा हवाइजहाज खरिद्का लागि सरकारसँग थप ८ अर्ब ५६ करोड रूपैयाँ बजेट माग गरेको छ । सेनाले ५० देखि ७० सीट क्षमताको हवाइजहाज, उद्धारका लागि २ वटा हेलिकप्टर र अति विशिष्ट व्यक्तिहरुको उडानका लागि एउटा हेलिकप्टर खरिद्का लागि भन्दै सरकारसँग थप ८ अर्ब ५६ करोड रुपैयाँ माग गरेको हो ।

sansad

व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा नेपाली सेनाका उपरथी प्रभुराम शर्माले तीन वर्षभित्र एउटा हेलिकप्टर र एउटा हवाइजहाज खरिद् गर्ने सेनाको योजना रहेको बताउनुभयो । सेनाले आफूसँग भएका पुराना तथा लिलामीको प्रक्रियामा रहेका हवाइ साधनहरुको बदलामा तीन वर्षभित्र एउटा हवाइजहाज र तीन वटा हेलिकप्टर खरिद् गर्न थप ८ अर्ब ५६ करोड रुपैयाँ चाहिने बताएको हो ।

समितिको वैठकले नेपाली सेनालाई स्रोत सम्पन्न वनाउन आवश्यक वजेट उपलव्ध गराउन समेत सरकालाई निर्देशन दिएको छ । नेपाली सेनाले जलविद्युत, सडक, भूकम्पपछिको पुनर्निमाण लगायतका विकास निर्माणको काम गर्ने इच्छा देखाएकोले उक्त कामको लागि वजेट उपलव्ध गराउन निर्देशन दिइएको हो ।

समितिको बैठकमा नेपाली सेनाले १० वर्षे आफ्नो योजनाका वारेमा समेत समितिलाई जानकारी गराएको थियो ।

 

LIVE TV