१७ बैशाख २०७३, शुक्रबार

अफगानिस्तानको उत्तरी प्रान्त तखारमा सुरक्षाकर्मीको कारबाहीमा परी कम्तीमा १० जना तालिवान लडाकू मारिएको समाचार छ ।

AFG

शुक्रबार ती तालिवान मारिएको समाचारमा जनाइएको छ । उक्त प्रान्तको एक आश्रयस्थलमा लुकेर बसेका तालिवान लडाकूलाई लक्ष्यगरी शुक्रबार गरिएको हवाई कारबाहीमा ती तालिवान मारिएका हुन् ।

अफगानिस्तानको गृहमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । त्यस क्रममा अरु केही घाइते पनि भएका सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस इलाकामा यसअघि पनि तालिवान लुकेर बसेको स्थानलाई लक्ष्यगरी गरिएको आक्रमणमा परी एक दर्जनभन्दा बढी तालिवान मारिएका थिए ।

एकहप्ता अघिबाट नै प्रहरी कारबाही जारी रहेको यस क्षेत्रमा शुक्रबार पनि हवाई आक्रमण गरिएको जनाइएको छ ।

उता बिहीबार मात्र पूर्वी अफगान प्रान्त नान्गाहारमा अमेरिकी संयुक्तबलले गरेको हवाई आक्रमणमा इस्लामिक स्टेट्स (आइएस) का दुई जना आतङ्ककारी मारिएको जानकारी दिइएको छ ।

सो संयुक्तबलले आचिन प्रान्तमा आइएस लडाकूको आखडालाई लक्ष्यगरी गरिएको हवाई आक्रमणमा दुई आतङ्ककारी मारिएको अफगान बिशेषबलद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । रासस÷एपी
 

LIVE TV