१७ बैशाख २०७३, शुक्रबार

डडेल्धुरा जिल्ला सदरमुकाम बागबजारमा भएको आगलागी अहिले पूर्ण रुपमा नियन्त्रणमा आएको छ । आज बिहान लागेको आगोले दुई पसल पूर्णतया नष्ट भएका छन् भने अन्य डेढ दर्जन पसलमा समेत क्षति भएको छ ।

dadh

आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली आगलागी भएको केही समयभित्रै घटनास्थल पुगेपनि आगलागी नियन्त्रणका लागि आवश्यक उपकरण नहुँदा आगो नियन्त्रणमा समस्या आएको हो ।

जिल्लामा रहेको एक मात्र अमरगढी नगरपालिकाको बारुणयन्त्र मर्मतका लागि जिल्ला बाहिर रहेकाले आगो नियन्त्रणमा समस्या भएको सर्वसाधारणको भनाइ छ । यसैबीच भीषण आगलागीको बिषयमा लापरवाही गरेको भन्दै अमरगढी नगरपालिकाका कार्यकारी अधिकृत मातृकाप्रसाद भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला सदरमुकाममा आगलागी हुँदा समेत आगलागी नियन्त्रणका लागि कुनै प्रयास नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुराको निर्देशनमा कार्यकारी अधिकृत भट्टराईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको जनाईएको छ ।

कार्यकारी अधिकृत माथि नगरपालिकामा रहेको वारुणयन्त्र (दमकल) तयारी अवस्थामा नराखेको आरोप लगाईएको छ  । डोटीबाट गएको दमकलको सहयोगमा करिब ३ घण्टापछि आगलागी नियन्त्रणमा आएको हो । आगलागी नियन्त्रणका क्रममा तीनजना सुरक्षाकर्मी घाइते भएका छन् । घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।

 

LIVE TV