
काठमाडौँ। गएराति निधन भएका पत्रकार तथा गीतकार सूर्यकुमार क्षेत्रीको आज दिउँसो अन्त्येष्टि गरिने भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा बिहीबार साँझ उपचारका लागि लगिएका उहाँलाई ८ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँ ३३ बर्षको हुनुहुन्थ्यो ।
काठमाडौँ उपत्यका बाहिरबाट क्षेत्रीका पिता आउन समय लागेकाले राति पार्थिव शरीर शिक्षण अस्पताल महाराजगन्जमा राखी आज बिहान ९ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा श्रद्धाञ्जलिका लागि २ घन्टा राखी अन्त्येष्टि गरिने भएको छ ।
विसं २०७१ मङ्सिरमा ‘ब्रेन ट्युमर’को शल्यक्रिया गरिएका क्षेत्री नियमित औषधि र चिकित्सकको परामर्शमा रहनुभएको थियो । नेपाल प्रेस युनियनका सचिव रहेका क्षेत्रीले शिक्षा र रङ्गमन्च पत्रकारिता गर्नुका साथै गीत लेखनमा आफूलाई सक्रिय बनाउनुभएको थियो । स्याङ्जा स्थायी घर भएका उहाँले पाल्पाबाट रेडियो पत्रकारिताको यात्रा थालनी गर्नुभएको थियो । उहाँ केही वर्ष उज्यालो राष्ट्रिय नेटवर्कमा आबद्ध हुनुभयो । पछिल्लो समय उहाँ आफ्नै परिकल्पनाको नेपाली कलाडटकममा सम्पादक हुनुहुन्थ्यो ।
शल्यक्रियापछि उहाँलाई गत वर्ष भारतमा पनि उपचार गरी स्वदेश फर्काइएको थियो । उहाँको उपचारका लागि नेपाल सरकारलगायत पत्रकारिताका संस्था र शुभेच्छुकले आर्थिक सहयोग गरेका थिए । क्षेत्रीको निधनपछि अस्पतालमा नेपाली काँग्रेसका सांसद गगन थापा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, लोकगायक विमलराज क्षेत्रीलगायत पत्रकार र शुभेच्छुक अस्पताल पुगेका थिए ।
क्षेत्रीका ‘धोका दिनेलाई के भनौँ र खै’, ‘लालुपाते नुग्यो भुइँतिर’, ‘उडी जाने जेट’, ‘यसपाली नि आउन पाइनँ’ ‘औँठी चिनो छ’, डाली पलायो’, ‘धानको सिरौला’ आदि लोक तथा आधुनिक गीत चर्चित छन् । क्षेत्रीका माता, पिता, श्रीमती र एक छोरा हुनुहुन्छ ।
उनको निधनपछि विहान ८ बजे प्रेस युनियनको आकस्मीक बैठक बसेको छ ।