
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले युद्धअपराध आरोपमा बेलायतमा कानुनी लडाइँ लडिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाको शीर्ष रिहाइका लागि बेलायती अधिकारीसँग आग्रह गरेका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ।

बेलायती विदेशराज्यमन्त्री ह्युगो स्वायरसँग लन्डनमा भएको भेटमा परराष्ट्रमन्त्री थापाले पक्राउ परेको तीन वर्षसम्म पनि बहालवाला नेपाली सैनिक बेलायतबाट रिहा नहुनु दुःखद रहेको बताए।
परराष्ट्रमन्त्री थापाले कर्णेल लामाका विषयमा बेलायती अधिकारीसँग कुराकानी भएको भेटपछि ट्वीट मा उल्लेख गरेका छन्। ‘नेपाल र बेलायतबीच दुई सय वर्षदेखि सुमधुर सम्बन्ध छ।
तर नेपालको एउटा बहालवाला सैनिक अधिकृतले तीन वर्षसम्म पनि बेलायतमै मुद्दा खेप्नु परेको छ। बेलायतजस्तो कानुन र विधिको शासन पालना गर्ने देशले यो विषयलाई गम्भीरतापूर्वक लिइदेओस् भन्ने मेरो आग्रह छ,’परराष्ट्रमन्त्री थापाले भेटमा भनेका थिए।
प्रत्युत्तरमा बेलायती राज्यमन्त्री स्वायरले लामाको मुद्दा अहिले अदालतमै विचाराधीन रहेको उल्लेख गर्दै जुन महिनामा पुनः सुनुवाइ सुरु हुने बताएका थिए। लामा अहिले बेलायतस्थित निवासमा छन्।