१६ बैशाख २०७३, बिहीबार

मौसम परिवर्तन, सुख्खा खडेरी र भूकम्पका कारण खानेपानीका मुहानहरु सुक्न थालेपछि भोजपुरका गाउँ तथा बस्तीहरुमा खानेपानीको चरम अभाव भएको छ । पूर्वी पहाडी यस जिल्लामा देखिएको खानेपानीको अभावका कारण आइपर्ने समस्या र चुनौती झेल्न भोजपुरबासी बाध्य बनेका छन् ।

फागुन महिना देखि सुख्खा खडेरी लाग्ने, बर्षात नहुने कारण मुहानबाटै खानेपानी कम आउने हुँदा खानेपानीको अभावले सर्वसाधारण सकसमा छन् । गत बैशाख १२ र २९ को महाविनाशारकी भूकम्पले खानेपानीका मुहानमा असर पारेपछि उपभोक्ताहरुलाई थप समस्या परेको छ ।

खानेपानी अभावका कारण भोजपुरका गाँउघर खाली हुन थालेका छन् । दक्षिणी मानेभञ्ज्याङ्ग गाविसबासीलाई अन्यत्र बसाई सर्नुपर्ने बाध्यता रहेको छ । घरमा जोडीएको खानेपानीको धारामा पानी नआउने भएपछि घन्टौको बाटो हिडेर खोलाखोल्सी र मुहानहरुमा लिन जानुपर्ने समस्या रहेको उनीहरुको भनाई छ । घन्टौ समय लगाएर पानी लिन जाँदा पनि खाली गाग्रा, भाडाको लामो ताँत लाग्ने हुँदा प्रशस्त समय लाग्ने गरेको स्थानीयवासीको  गुनासो छ । खोलाखोल्साको प्रदुषित र धमिलो पानी खानुपर्दा स्वास्थ्यमा असर पार्ने डर समेत उनीहरुमा छ ।

खानेपानीको समस्या दक्षिणी भेगका गाविसमा अत्यधिक मात्रामा रहेको छ । जिल्लाभरका खानेपानी वितरणको जिम्मेवारी पाएको जिल्ला खानेपानी तथा सबडिभिजन कार्यालय भोजपुरले सरकारले वितरण गरेका खानेपानी योजनाहरुलाई स्थानीय उपभोक्ताले हेर्ने दृष्टिकोणले गर्दा समस्या आएको बताएको छ । जनसंख्या बृद्धि र पछिल्लो समय मुहान अभावका कारण खानेपानी समस्या बढेको छ ।

बर्षेनी खानेपानी योजना बढेअनुसार आवश्यक बजेट बिनियोजन हुन नसक्दा सबै योजनाहरु एकैपटक सम्पन्न गर्न गाह्रो हुने गरेको छ । आर्थिक बर्षमा क्रमागतमा परेका २२ वटा योजनालाई ४ करोड रुपैयाले धान्नुपर्ने र थप मुहान समेत खरिद गर्नुपर्ने समस्याले पर्याप्त मात्रामा खानेपानी योजना गाँउमा पु¥याउन समस्या रहेको जनाएको छ ।

भोजपुरमा देखिएको समस्याको सम्बोधन गर्न सरकारी तथा गैरसरकारी संस्था सक्रिय हुन आवश्यक छ । जलश्रोतको धनी देश नेपालका जनता काकाकुलको अवस्थामा रहनु पर्ने बाध्यताको निराकरण खोजिन जरुरी छ ।

 

 

 

LIVE TV