१६ बैशाख २०७३, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समितिको गठन, गणतन्त्र दिवसका कारण बजेट केही पछि आउने संकेत

pm oli

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ । गणतन्त्र दिवस र सरकारले सार्वजनिक गर्ने भनिएको बजेटको मिति एकै दिन परेकोले बजेट केही दिनलाई सार्न सकिने बताइएको छ ।

बिहीबार बसेको मूल समारोह समितिको बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ गतेसम्म तीन दिन देशभित्र र देशबाहिर रहेका नेपाली नियोगहरुमा विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा कायममुकायम प्रधान न्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, उप्रधानमन्त्रीहरु, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरुलगायत रहनुभएको मूल समारोह समिति गठन गरिएको छ । यसै बीच गणतन्त्र दिवस र सरकारले सार्वजनिक गर्ने भनेको बजेट एकै दिन पर्ने देखिएकोले बजेट केही दिनलाई सार्न सकिने प्रधानमन्त्री ओलीले प्रष्ट पार्नु भएको छ ।

मूल समारोह समिति अन्र्तगत सूचना तथा सञ्चारमन्त्री शेरधन राईको संयोजकत्वमा मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक, नेपाल टेलिभिजनका अध्यक्ष, गोरखापत्र संस्थानका अध्यक्ष, रेडियो नेपालका कार्यकारी निर्देशकलगायत रहनुभएको प्रचारप्रसार उपसमिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीको संयोजकत्वमा ग्राउन्ड, कवाज, व्यायाम तथा झाँकी व्यवस्थापन उपसमिति र काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति गठन गरिएको छ । जेठ १६ गते दशरथ रंगशालामा प्रधानमन्त्री एघार र सचिव एघारबीच मैत्रिपूर्ण खेलको समेत आयोजना गरिने छ ।

 

LIVE TV