१६ बैशाख २०७३, बिहीबार

काठमाडौँ, सरकारले अन्य राष्ट्र वा सङ्घ÷सङ्गठनसँग सन्धि गर्दा नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानमा प्रतिकूल असर पर्ने गरी कुनै पनि सन्धि गर्न नहुने सरोकारभएकाहरुले बताउनुभएको छ ।

काुनन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘सन्धि सम्पन्न गर्नेसम्बन्धी निर्देशिका–२०७३, को प्रारम्भिक मस्यौदा छलफल कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले राष्ट्रिय हितविरुद्ध हुने गरी कुनै पनि सन्धि गर्न नहुने निर्देशिकामा स्पष्ट व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । सन्धि गर्दा प्रक्रियागत त्रुटि नहोस् भन्नाका लागि निर्देशिका महत्वपूर्ण छ भन्दै उहाँले नियमावली बनाएर मात्र निर्देशिका बनाउन सुझाव दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका सहसचिव डिल्लीराज घिमिरेले ‘सन्धि सम्पन्न गर्नेसम्बन्धी निर्देशिका’ विषयको कार्यपत्र प्रस्तुत गर्दै अन्य देशसँग सन्धि गर्दा गल्ती हुनबाट बच्नका लागि सन्धिसम्बन्धी निर्देशिका आवश्यक रहेको स्पष्ट गर्नुभयो ।

मन्त्रालयले सन्धि सम्पन्न गर्नेसम्बन्धी निर्देशिका आवश्यक भएकाले त्यसको प्रारम्भिक मस्यौदा तयार पारिसकेको र थप छलफलपछि अन्तिम रुप दिने जनाएको छ । रासस

 

LIVE TV