१५ बैशाख २०७३, बुधबार

दोलखा, यस जिल्लाका ४ गाविस जोड्ने भोर्ले खोलामा निर्माण सुरु गरिएको पक्की आरसिसी पुल सात वर्ष पुग्दा पनि निर्माण सम्पन हुन सकेको छैन ।

पुल डिजाइन कम्पनी नेपाल कन्सल्टेन्ट प्रालिको गलत डिजाइनले गर्दा पुल निर्माण हुन नसकेको हो । डिभिजन सडक कार्यालय दोलखाका अनुसार कन्सल्टेन्टले सिफारिस गरेको डिजाइन, मापदन्ड र तौलअनुसार पटक–पटक वर्कसप डिजाइन गर्दा पनि ५२ टन तौल अपुग भएर अन्योल भएसँगै सात वर्षसम्म पनि पुल निर्माण हुन नसकेको हो ।

कन्सल्टेन्टले करिब १६४ टन स्टिल फेब्रिकेसनको सिफारिस गरेको भएपनि दुई फरक वर्कसपमा डिजाइन गर्दा करिब २१६ टनको हिसाब निस्किएपछि गलत डिजाइन भएको सावित भएको डिभिजन सडक कार्यालय दोलखाका इन्जिनियरले बताएका छन् । विसं २०६६ मा करिब छ करोड लागतमा निर्माणको जिम्मा रौताहा÷ओमबुद्ध जेभीले लिएको थियो । फुटपाथसहितको एक लेनको पुल करिब ४२ मिटर लम्बाइको निर्माण गरिने बताइएको थियो ।

ठेकेदार कम्पनीले भने पुल फाउन्डेसनको काम सकिएको तर सात वर्ष बितिसक्दा पनि सडक कार्यालयले तौल थपको टुङ्गो लगाउन नसकेको आरोप लगाउँदै आएको छ । प्रतिस्पर्धाबाट ठेक्का सम्झौता गर्दाको अनुमान गर्न नसकिने परिस्थितिको कल्पना गरेर सार्वजनिक खरिद ऐनले गरेको व्यवस्थाअनुसार अधिकारप्राप्त कर्मचारीले १५ प्रतिशतसम्म भेरिएसन अर्डरमार्फत तौल र दर फेरबदल गर्नसक्ने नियमलाई कार्यान्वयन गरेर डिभिजन सडक कार्यालयले त्यतिबेला तौल र दर फेरबदल गरी करिब १९५ टनमा पुनः डिजाइन गरेको बताइएको छ ।

केही समयपछि करिब ३१ टन बढेको तौलको भुक्तानीका लागिसमेत रु एक करोड बजेट स्वीकृत भएर आएको कार्यालयका कर्मचारीको भनाइ छ । वर्कसप डिजाइनभन्दा करिब २१ टन कम तौल पुनःडिजाइन गरिएको पुलको स्टिल फेब्रिकेसन कन्सल्टेन्टले सिफरिस गरेभन्दा पातलो, कम जोड्नीयुक्त र पातलो ट्रस भएको इन्जिनियरको भनाइ छ ।

करिब ३० देखि ४५ टनका लागि डिजाइन गरिएको आरसिसी पुल पुनः डिजाइन गर्दा बढीमा ३० टन भारवहन क्षमताको मात्र हुने बताइएको छ । पुल बने सुरी, मार्बु, चङ्खु र खारेका चार गाविसका स्थानीय लाभान्वित हुनेछन् ।

यी गाविसमा थुप्रै जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । रासस

 

LIVE TV