१५ बैशाख २०७३, बुधबार

पूर्वी पहाडी जिल्ला भोजपुर विकास निर्माणमा निकै पछाडी परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीदेखि धेरै जना मन्त्री र रानितिज्ञको जन्मथलो भएपनि विकास निर्माणमा भोजपुरले फड्को मार्न सकेको छैन । जनताको प्रतिनिधित्व गर्दै केन्द्र पुगेका नेताहरुले विकासको नेतृत्व नगरेको स्थानीयको गुनासो छ ।

bhojpur road 2

दुई वटा निवार्चन क्षेत्र रहेको भोजपुरमा अहिले ६ जना सांसदहरु छन् । क्षेत्र नं. २ का सासद शेरधन राई यतिबेला सूचना तथा सञ्चार प्रविधि मन्त्री हुनुहुन्छ । भोजपुरमा जन्मिएकी विद्यादेवी भण्डारी राष्ट्रपति हुनुहुन्छ । तर, भोजपुरको विकासको गति भने झन् सुस्ताउँदै गएको छ । भोजपुरका सर्वसाधरणहरु भने विकास निर्माणको गतिलो आशा लिनेमा बिश्वस्त देखिएका छैनन् ।

भोजपुरलाई बाहिरी जिल्लासँग जोड्ने मध्यपहाडी राजमार्ग अन्तर्गत भोजपुर लेगुवा सडकको कालेपत्रेको काम सुस्ताएको छ । टक्सार विमानस्थलको स्तरोन्नतीको काम पनि विभिन्न वाहानामा ओझेलमा परेको छ । दर्जनौ विकास निर्माणका काम अलपत्र परेका छन् । विकासले गति लिन नसक्दा स्थानीयहरु चिन्तित छन् ।

कतिपय योजनामा परेका दर्जनौं पक्की पुल, सडक, विद्युत आयोजना र भौतिक संरचना निर्माणका विषयमा विवाद कायमै छ । निर्माण स्थल परिवर्तन गर्ने तथा दलगत स्वार्थमा विकास योजना तानातान गर्ने र काम अलपत्र छोडने क्रम रोकिएको छैन । भोजपुर सदरमुकाम अव्यवस्थित शहरीकरणले कुरूप बन्दै गएको छ ।

पञ्चायतकालमा ध्यानबहादुर राई मन्त्री हुदाँ भोजपुरमा सञ्चार, विद्युत र हवाई सेवा विस्तार भएको थियो । त्यसपछि धेरै व्यक्तिहरु मन्त्री लगायत सरकारी उच्च ओहदामा पुगेपनि भोजपुरको विकासमा ध्यान नदिएको स्थानीयबासीको गुनासो छ । नीति निर्माणकै तहमा प्रतिनिधित्व भए पनि विकासका लागि कसैले पनि उल्लेखनीय भूमिका निर्वाह नगरेकै कारण भोजपुर विकास निर्माणमा पछाडी परेको हो ।

 

LIVE TV