१५ बैशाख २०७३, बुधबार

नेपाल बैंक लिमिटेडले नेपाल इन्स्योरेन्स कम्पनीमा रहेको दश लाख ३१ हजार ६ सय ७४ कित्ता सेयर लिलाम बढाबढबाट विक्रि गर्ने भएको छ । सेयरका लागि न्युनतम चार सय रुपैया मूल्य तोकेको नेपाल बैंकले जनाएको छ ।

nb

इन्स्योरेन्स कम्पनीको सेयरबाट नेपाल बैकले न्युनतम ४१ करोड रुपैयाँ प्राप्त गर्नेछ । तर नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्सुरेन्सको प्रतिकित्ता साढे सात सय रुपैयाँमा सेयर कारोवार भैरहेको छ । बजार मूल्यमा कम्पनीको सेयर विक्रि भए नेपाल इन्सुरेन्सबाट कम्पनीले ७५ करोड रुपैयाँभन्दा बढी प्राप्त गर्ने कम्पनीले जनाएको छ । नेपाल बैंकले यो सेयर विक्रिका लागि सिद्धार्थ क्यापिटललाई विक्रि प्रवन्धकका रुपमा नियुक्त गरेको छ । नेपाल इन्सुरेन्समा सेयर आवेदनका लागि २१ दिनको समय दिइएको छ भने न्युनतम चार लाख ३१ हजार कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।

नेपाल बैंकले विक्रि गर्न लागेको यो पूरै सेयर नेपाल इन्सुरेन्सको कुल चुक्ता पुँजीको झण्डै ४० प्रतिशत हो । कम्पनीमा नेपाल बैंकको अझै दश प्रतिशत बढी सेयर रहनेछ । नेपाल बैंकले नेपाल इन्सुरेन्ससहित राष्ट्रिय बीमा कम्पनी, नागरिक लगानी कोष तथा होटल हायातको लगानी कम्पनी तारागाउँ रिजेन्सीको सेयर समेत विक्रि गर्ने भएको छ ।

चार कम्पनीको सेयर विक्रिपछि आउने झण्डै तीन अर्व रुपैयाँपछि बैंकको सञ्चित नोक्सानीबाट सञ्चित मुनाफा आउने बैँकको विज्ञप्तीमा जनाइएको छ । बैंकसँग तारागाउँको ७० लाख कित्ता, राष्ट्रिय बीमा कम्पनीसँग एक लाख ३६ हजार कित्ता तथा नागरिक लगानी कोषको तीन लाख ३४ हजार कित्ता सेयर रहेको नेपाल बैँकले जनाएको छ ।

 

 

LIVE TV