१४ बैशाख २०७३, मंगलवार

जुम्ला, कुडारी गाविस–४ स्थित जुम्लीभिड राष्ट्रिय वनमा सोमबार आगलागी हुँदा छ हजारभन्दा बढी बिरुवा सखाप भएका छन् ।

house-fire
स्थानीयवासी महिलाले चुरोट सल्काएर खाएको ठुटो जथाभाबी फालेका कारण वनमा डढेलो लागेको सोही वडाका महिलाले बताएका छन् । “गुच्ची च्याउ खोज्न गएका बेला एक महिलाले चुरोटको ठुटो फालेकी थिइन्, पछि त्यही ठुटोबाट डढेलो सुरु भयो ”स्थानीयवासी सविना शाहीले बताउनुभयो । उहाँका अनुसार पछि स्थानीयवासी सबै महिला जुटेर तीन घन्टापछि डढेलो नियन्त्रणमा लिएका थिए ।

डढेलोबाट सल्लो र देवदारका बिरुवा नष्ट भएको छ । उहाँका अनुसार आगो निभाउँदा स्थानीयवासी कुसा कामीको एउटा खुट्टा र कपडा पोलिएको तथा उनको स्थानीय औषधि पसलमा उपचार भइरहेको छ ।

“हामीले यसमा पुरुषको धेरै साथ सहयोग पायौँ, जसका कारण आगो नियन्त्रणमा ल्याइयो” – स्थानीयवासी जानकी शाहीले भन्नुभयो । यहाँका पुरुष महिला मिलेर आगो नियन्त्रणमा नलिएको भए हजार बिरुवा नष्ट हुने थिए । समुदायका अन्य महिलाले आगलागीमा संलग्न महिलालाई एउटा खसीको जरिवाना गरेका छन् ।

त्यसैगरी आइतबार जिल्लाको देपालगाउँमा पनि आगलागी हुँदा सयौँ सल्लाका बिरुवा नष्ट भएका छन् । आगलागी साँझ भएकाले सुरक्षाकर्मी पठाउन नसकिएको तर स्थानीयवासीलाई परिचालन गर्न लगाएर आगो नियन्त्रणमा ल्याइएको प्रजिअ रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका सबै गाविसलाई डढेलो लाग्नबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । रासस

 

LIVE TV