
काठमाडौं । मन्त्रिपरिष्दको मंगलबार बस्ने बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद्को बजेट अधिवेशन आह्वान गर्न सिफारिस गर्ने तयारी गरेको छ भने सभामुख ओनसरी घर्तीले आगामी २१ गते ४ बजे अधिवेशन बोलाउन सोमबार परामर्श प्रस्ताव पठाएकी छन्।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले अन्नपूर्णसँग भने,मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकले संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ। सभामुख घर्तीले सिंहदबारस्थित कार्यकक्षमा सोमबार सञ्चारकर्मीहरूसँग आफूले राष्ट्रपतिसमक्ष परामर्श प्रस्ताव पठाएको जानकारी दिएकी हुन् । मैले सरकारसँगको सल्लाह र सहमतिमै प्रस्ताव पठाएकी हुँ।
संसद् सचिवालयका सचिव मुकुन्द शर्माले सभामुखले राष्ट्रपतिसमक्ष पठाएको परामर्श सिफारिसमात्र भएको र विगतकै परम्पराको निरन्तरता भएको बताए। सभामुख घर्तीले राष्ट्रपतिसमक्ष संसद् आह्वानका लागि पठाएको परामर्शपत्र संसद्को प्रचलित मान्यताभित्रै रहेको उनका प्रेस सल्लाहकार बबिन शर्माले बताए।
सभामुखको बेलायत भ्रमणअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शसाथ सोमबार उक्त पत्र सचिवालयमार्फत राष्ट्रपतिलाई पठाएको जानकारी शर्माले दिए। उनले भने, पत्रमा संसद् सचिवालयले संसद् आह्वान भएमा त्यसको तयारी गर्न सक्छ, सक्दैन, त्यसका लागि केकस्तो तयारी गरिरहरको छ लगायतका विषयसमेत छन्।
परामर्शपत्रमा आगामी २१ गते मंगलबार अपराह्न ४ बजे संसद् आह्वानका लागि उपयुक्त छ भन्ने बेहोरासमेत रहेको शर्माले बताए। सभामुखले राष्ट्रपतिलाई दिएको परामर्शपत्रका सम्बन्धमा जिज्ञासा राख्दा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालले भने,परामर्श प्रस्तावलाई विवादका रूपमा लिनु हुँदैन।
सरसफाइ तथा खानेपानीमन्त्री प्रेमबहादुर सिंहले संसद् बोलाउने विषयमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखबीच पत्राचार, सरसल्लाह सामान्य भएको बताए। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् आह्वान गर्ने संवैधानिक व्यवस्था छ। पूर्वसभामुख दमननाथ ढुंगानाको कार्यकालदेखि प्रधानमन्त्री र सभामुखबीचको सल्लाहमा संसद् र सरकारको तयारीसम्बन्धी परार्मशपछि संसद् बोलाउने निरन्तरताको अभ्यासको उदाहरण रहेको एक संसद् विज्ञले बताए। उनले ढुंगानाको पालाको यो निरन्तरता अब आवश्यक नरहेको प्रतिक्रियासमेत दिए।