१३ बैशाख २०७३, सोमबार

काठमाडौं । शैक्षिक सत्र सुरु भएको २ हप्ता वितिसक्दा समेत सबैजसो जिल्लामा विद्यार्थीले किताब पाउन सकेका छैनन् । सरकारले वैशाख ५ देखि १५ सम्मलाई ’का रूपमा मनाइरहँदा जनक शिक्षा सामग्री केन्द्रमा ६ देखि १० सम्म कयौं किताब छापिनै बाँकी छ ।

केन्द्र स्रोतले ‘दस प्रतिशतभन्दा बढी किताब छाप्नै बाँकी रहेको’ बताएको छ । शिक्षामन्त्रीले निजी प्रकाशकलाई छाप्न दिने निर्णय नगर्दा देशैभर किताब अभाव भएको मन्त्रालयका एक सहसचिवको भनाइ छ । निजीले जिम्मेवारी लिएको कक्षा एकदेखि पाँचसम्मका किताब कतै पनि समस्या नभएको शिक्षा विभागले जनाएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले किताब छपाइ सके पनि २० लाख थान किताबको फिनिसिङ हुन बाँकी रहेको बताए । केन्द्रको गेटकै बिक्री कक्षमा किताब लिन जानेले पनि पूरा सेट पाउँदैनन् ।

६ कक्षाको अंग्रेजी, स्वास्थ्य, कम्प्युटर, नेपाली र गणित मात्रै छ । ७ कक्षाको विज्ञान, स्वास्थ्य, नेपाली, अंग्रेजी, गणित र कम्प्युटर मात्रै पाइन्छ । ८ कक्षाको सामाजिक, कम्प्युटर, विज्ञान, पेसा, नेपाली, अंग्रेजी, ९ कक्षाको स्वास्थ्य, गणित, अर्थशास्त्र, नेपाली, शिक्षा, ऐच्छिक गणित र १० कक्षाको शिक्षा, स्वास्थ्य र विज्ञान मात्र पाइन्छ । कुनै पनि कक्षाको पूरा सेट किताब पाइँदैन । खोटाङ जिल्ला शिक्षा कार्यालयका अनुसार कक्षा ६ र ७ को ७० प्रतिशत किताब अपुग छ । कक्षा ८ र ९ को ७५ प्रतिशत किताब जिल्ला पुर्‍याएकै छैन ।

सुर्खेतका जिल्ला शिक्षा अधिकारी दीपा हमालका अनुसार कक्षा ६ को सामाजिक, कम्प्युटर, गणित दुई हजार अपुग छ । कक्षा ७ को नेपाली, कम्प्युटर, नैतिक तीन हजार ५ सय र कक्षा ९ को ऐच्छिक शिक्षा जिल्लामा एक प्रति पनि पुगेको छैन । म्याग्दीमा ६ र ७ कक्षाको किताब कतै नपाइने शिक्षा अधिकारी रामप्रसाद अधिकारीले शिक्षा विभागमा जानकारी गराएका छन् । तेह्रथुममा ६ र ७ कक्षाको दुई विषयको मात्रै किताब बजारमा पाइन्छ । बैतडीका शिक्षा अधिकारी लालसिंह ऐरले विभागलाई दिएको जानकारीअनुसार किताब बजारमा पाइँदैन । सात कक्षाको चार हजार सेट आवश्यक छ । कक्षा ९ को सात सय र १० कक्षाको आठ सेट किताब अभाव छ ।

विभिन्न जिल्ला शिक्षा कार्यालयले विभागमा दिएको जानकारीअनुसार कक्षा ६ र ७ को सबै जिल्लामा किताब अभाव छ । कतिपय जिल्लामा किताब पुगेकै छैन । कक्षा ८ को सेटमा पाएका छैनन् । ९ र १० को ऐच्छिक विषयका किताब सबैजसो जिल्लामा अभाव छ । कक्षा ६ देखि १० सम्मको अंग्रेजी माध्यमका किताब कतै पनि पुगेको छैन । ‘कक्षा १ देखि ५ कक्षासम्म किताब अभाव छैन,’ भक्तपुरको पद्म उच्च माविका प्राचार्य राम हाडाले भने, ‘कक्षा ६ देखि १० को किताब आंशिक रूपमा मात्रै प्राप्त छ ।’ कही विद्यालयले १० कक्षाको किताब पनि पाएको छैन । अरनिको उच्चमाविका निमित्त प्रधानाध्यापक हरिशरण ढुंगेलले ऐच्छिक विषयको किताब अभाव रहेको बताए ।

ललितपुरका विद्यालयमा कक्षा १ देखि १० सम्म किताबको सेट नपाएको शिक्षकहरू बताउँछन् । ‘जनक शिक्षा सामग्री केन्द्रबाटै किताब नआएकाले वितरणमा ढिलाइ भएको छ,’ ललितपुरको उपजिल्ला शिक्षा अधिकारी खेमनाथ पोखरेलले भने ।

सुदूरमा बर्सेनि अभाव
विगतका वर्षझैं यसवर्ष पनि सुदूरपश्चिममा विद्यार्थीले कक्षा सुरु हुँदा पनि किताब पाउन सकेका छैनन् । निमावि र मावि तहको किताब अपुग भएको शिक्षा कार्यालयले जनाएको छ । गाउँ–गाउँबाट किताब लिन सदरमुकाम आएका अभिभावक रित्तै फर्कन बाध्य छन् । सुदूरको सुगम मानिने कैलाली र कञ्चनपुरमा पनि कक्षा ९ र १० को पाठ्यपुस्तक पाइँदैन ।

जनक शिक्षा सामग्री केन्द्र धनगढीले सुदूरपश्चिममा ६ देखि १० कक्षाको साढे ४ लाख किताब अपुग भएको जनाएको छ । केन्द्रका क्षेत्रीय प्रमुख योगेन्द्रप्रसाद भट्टले सुदूर क्षेत्रका ९ जिल्लालाई आवश्यक पर्ने १८ लाख थान किताबमध्ये १३ लाख ५० हजार थान किताब मात्रै आएको बताए । ‘क्षेत्रीय कार्यालयमा आइपुगेका सबै किताब वितरण गरिसकेका छौं,’ उनले भने, ‘आउने क्रम जारी छ ।’

बैतडीमा प्राथमिक तहका किताब पाउन सहज भए पनि निम्न माध्यमिक र माध्यमिक तहका आवश्यक किताब आएका छैनन् । कञ्चनपुरका पुस्तक व्यवसायीहरूका अनुसार कक्षा ६ देखि १० सम्म माग गरेको १० प्रतिशत मात्रै पाठ्यपुस्तक प्राप्त भएका छन् । ‘कक्षा ६ को एक थान किताब पनि पाएको छैन । ७, ९ र १० को पनि सेटमा छैन,’ पाठ्यपुस्तक बिक्री डिपोका सञ्चालक दुर्गादत्त पाण्डेयले भने । उनका अनुसार कक्षा ९ को तीनवटा र १० को पाँच विषयका किताब मात्रै पाएका छन् ।

डडेलधुरामा गतवर्ष जस्तै हालसम्म सबै कक्षाका पाठ्यपुस्तक पुग्न सकेका छैनन् । प्राथमिक तहका पाठ्यपुस्तक जिल्लामा पुगिसकेको बताइए पनि विद्यालयमा भने छैन । दार्चुलामा पनि विद्यार्थीले किताब पाएका छैनन् । विद्यार्थीको हातमा किताब पुग्न अझै साता लाग्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कक्षा ६ को सामाजिक र अन्य कक्षाका अंग्रेजी विषयको किताब अभाव छ ।

पुस्तक व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष मेघराज बोहराले कक्षा ८ को पनि आवश्यकअनुसार नपाइएको बताए । ‘६ देखि १० सम्म कुनै पनि कक्षाको पूर्ण किताब आएको छैन,’ उनले भने, ‘९ कक्षाको त कोर्ष परिवर्तन भएकाले झन् अझ बढी चाहिन्छ ।’ बैतडीमा नयाँ शैक्षिक वर्ष सुरु भए पनि आवश्यक किताब नपाउँदा विद्यार्थी र अभिभावक पसलबाट रित्तो हात फर्कन बाध्य छन् । सदरमुकामकै पसलमा ६ कक्षाका एउटै किताब आएका छैनन् । जिल्लाभर ९ र १० कक्षाको ऐच्छिक विषयका किताब आएका छैनन् । ७ कक्षाका गणित, विज्ञान र कम्प्युटर विषयका किताब आएका छैनन् । ‘प्राथमिक तहका सबै पाठ्यपुस्तक जिल्लामा पुगिसकेका छन्,’ डडेलधुराका जिल्ला शिक्षा अधिकारी दुर्गा बिष्टले भने, ‘६ देखि कक्षा ९ सम्मका सबै किताब भने पुगेका छैनन् ।’

दार्चुलाको दुर्गम गाउँमा ढुवानी समस्याका कारणले विद्यार्थीले किताब पाउन सकेका छैनन् । ‘दार्चुलामा यो वर्ष पाठ्यपुस्तक समस्या छैन,’ दार्चुलाका शिक्षा अधिकारी डा। बाबुराम ढुंगानाले भने । बझाङ, बाजुरा, अछाम र डोटी जिल्लामा पनि अन्य जिल्लाकै अवस्था रहेको छ । सदरमुकाममा किताब पुग्न थालेको भए पनि टाढा रहेका दुर्गम भेगमा भने अझै किताब पुग्न सकेको छैन ।

५० प्रतिशत अपुग
चितवनमा रहेको जनक शिक्षा सामग्री केन्द्रको क्षेत्रीय कार्यालयले मध्यमाञ्चल र पश्चिमाञ्चलका गरी ११ वटा जिल्लामा पाठ्यपुस्तक पुर्‍याउने गर्छ । यसवर्ष पनि विगतका वर्षझैं मागबमोजिम किताब पुर्‍याउन सकेको छैन । केन्द्रले कक्षा ८, ९ र १० को किताब ७० प्रतिशत उपलब्ध गराए पनि ६ र ७ को थोरै छ । मागको ५० प्रतिशत मात्र पाठ्यपुस्तक पुर्‍याउन सकिएको केन्द्रको क्षेत्रीय कार्यालय चितवनका प्रमुख मोहनकृष्ण श्रेष्ठले बताए । सेटमा किताबहरू उपलब्ध हुन नसक्दा बिक्रेताले किताब उठाउन मानेका छैनन् । वैशाख २ गतेदेखि पाठ्यपुस्तक सेटमा छैन । मध्यमाञ्चलको रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन र पश्चिमाञ्चलको गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, रूपन्देही र नवलपरासी गरी ११ वटा जिल्लामा चितवनबाट पाठ्यपुस्तक पठाउने गरिन्छ ।

बारामा अनिवार्य विषयको पाठ्यपुस्तक नै जिल्लामा नआएको शिक्षा कार्यालयले जनाएको छ । किताब विद्यालयमा पुग्न अझै सातासम्म लाग्ने जिशिअ धनप्रसाद पोखरेलले बताए । कपिलवस्तुको ४ सय २७ विद्यालयमध्ये कक्षा ६ र ७ का किताब वितरण गर्न सकेका छैनन् । शिक्षा कार्यालयले किताब खरिद गर्न गत फागुनमै सबै विद्यालयको खातामा ३ करोड २८ लाख रकम पठाइसकेको छ । अन्य कक्षाका किताब वितरण गरे पनि जिल्लाभरि नै कक्षा ६ र ७ का किताब र कक्षा ९ र १० का ऐच्छिक किताबको अभाव छ । ४४ विद्यालयमा अनुगमन गर्दा ४ वटाले पुरै पाएको, १७ वटाले आंशिक वितरण गरेको पाइएको सहायक जिशिअ सूर्य भुसालले बताए । २३ विद्यालयले कुनै पनि तहका किताब वितरण गर्न नसकेको उनले बताए । दक्षिणी सीमा क्षेत्रको मावि अजिगरा र अजिगराकै बुद्धज्योति निमाविले कुनै पनि तहको किताब वितरण नगरेको विवरण प्राप्त भएको उनले बताए ।

मकवानपुरमा पनि दुर्गममा अभाव
दुर्गम गाउँका केही विद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । खैराङ र आग्राका विद्यालयका शिक्षकले बुधबार मात्र किताब लगेका छन । विशेषगरी तराईवासी प्रधानाध्यापक भएका स्कुलमा किताब पुग्न ढिलाइ भएको छ । परीक्षा सकेर घर गएका तराईवासी शिक्षकहरू फर्कने क्रम सुरु भएकाले स्कुलमा किताब पुग्न ढिलाइ भएको हो । आग्रास्थित २ वटा प्रावि र एक माविका शिक्षकले बुधबार मात्र किताबहरू लगेका हुन । सबै कक्षाका पूरा सेट किताब विद्यालयमा पुगेका छैनन् । हेटौंडास्थित वंशगोपाल उच्च माविका प्राचार्य रमेश लामिछानेका अनुसार किताब विद्यार्थीले पाएका छन् तर पूरा सेट छैन ।

बार्गेनिङले किताब लगेनन्
समयमै पाठ्यपुस्तक उपलब्ध गराउन शिक्षा कार्यालयले २ महिनाअघि नै रकम उपलब्ध गराए पनि गुल्मीका दुर्गम क्षेत्रका अधिकांश विद्यालयमा किताब पुगेका छैनन् । कक्षा ६ र ७ का पुरै सेट जिल्लाभर अभाव छ । कक्षा ९ को पनि पूरा सेट आएको छैन । सामुदायिक विद्यालयका लागि कक्षा ६, ७ र ९ का केही विषयबाहेक अन्य कक्षाका किताब पर्याप्त आए पनि विभिन्न बहानामा विद्यालयले लगेका छैनन् । शिक्षा अधिकारी मित्रमणि खनालले भने, ‘अहिले दुर्गमका धेरै विद्यालयले अझै किताब अर्डर नै नगरेको जानकारी आएकाले छानबिन गर्दैछौं ।’ जिशिकाले बजेट निकासा दिए पनि विद्यार्थी संख्याको टुंगो नभएकाले किताब खरिद नै नगरिएको हवाङी मेहेले माविका प्रअ घनश्याम अर्यालले बताए ।

तम्घासका किताब व्यवसायीका अनुसार कक्षा ६, ७ र ९ का बाहेक अन्य सबै कक्षाका किताब सदरमुकाममा पर्याप्त छन् । तर, पश्चिमी क्षेत्रका अधिकांश शिक्षक किताब पसलैपिच्छे कमिसनको ‘बार्गेनिङ’ गर्दै हिँड्ने गरेकाले विद्यालयमा किताब नपुगेको व्यवसायीले बताए । ‘केही शिक्षकले फोन गरेर सोध्नुभएको थियो,’ एक व्यवसायीले भने, ‘उहाँहरूले मागेजति कमिसन दिन नसक्ने भएपछि अर्डर नै गर्नुभएको छैन ।’ पश्चिमका नेटा, दर्लिङ, हवाङी, अर्खाबाङ, मलायागिरी र म्यालपोखरीलगायत दुर्गमका विद्यालयमा किताब पुगेका छैनन् ।

त्यस्तै पूर्वी क्षेत्रका दुर्गम ग्वाघा, पूर्तिघाट, खडगकोट र भुर्तुङलगायत विद्यालयमा पनि किताब छैनन् ।स्याङजामा पाठ्यपुस्तक नहँ‘दा भर्ना अभियान प्रभावकारी हुन नसकेको उपजिल्ला शिक्षा अधिकारी बाबुराम सापकोटाले बताए ।

म्याग्दीमा नयाँ शैक्षिक सत्र सुरु भएसँगै सामुदायिक विद्यालयका विद्यार्थीको हातमा किताब पुग्ने क्रम सुरु भएको छ । कक्षा ६ र ७ का केहीबाहेक आवश्यक सबै किताब सम्बन्धित स्रोत केन्द्रमा पुगेको छ । ‘अनुगमनबाट निमावि तहमा केही किताब अभाव हुने देखिएकाले थप किताब ल्याउने प्रयत्न भइरहेको छ,’ जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारीले भने ।

पाल्पामा ८५ प्रतिशत विद्यार्थीले किताब पाइसकेका छन् । प्राथमिक विद्यालयका विद्यार्थीले सबै किताब हातमा पाएका छन् । कक्षा ६ देखि १० का विद्यार्थीले सेटमा किताब पाउन नसकेको हो । बागलुङका शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रका अनुसार कक्षा ६ र ७ को ५० प्रतिशत तथा ९ र १० को ऐच्छिक गणित अभाव छ ।

तनहुँमा कक्षा ६ र ७ को किताब अहिलेसम्म जिल्लामा नआएको बिक्रेताले बताएका छन् । दमौलीस्थित किताब व्यवसायीले सुरु गरेको संयुक्त बिक्री केन्द्रले कक्षा ८ को विज्ञान र कक्षा ९ को अनिवार्य र ऐच्छिक गणित, कक्षा १० को शिक्षाको किताब नआएको जनाएको छ ।

आधा दिनमै विद्यालय बिदा
पूर्वका मोरङ, सुनसरी, झापा, सप्तरी र सिरहाका सामुदायिक विद्यालयका विद्यार्थी आधा किताब बोकेर विद्यालय गइरहेका छन् । ती जिल्लामा विद्यार्थीले पूरा सेटमा किताब पाएका छैनन् । निजी क्षेत्रबाट उपलब्ध हुने किताबमा समस्या छैन । कक्षा ६ र ७ का विद्यार्थीले दुईदेखि तीनवटा मात्र किताब बोकेर विद्यालय आउँछन् । कक्षा ८ देखि १० का विद्यार्थीले ऐच्छिक किताब ल्याउँदैनन् । मोरङका उपजिल्ला शिक्षा अधिकारी फणिन्द्र खत्रीका अनुसार मोरङमा निजी क्षेत्रले उपलब्ध गराउने कक्षा १ देखि ५ सम्मका विद्यार्थीले पुरै सेट किताब पाएका छन् । कक्षा ६ र ७ काले ३० प्रतिशत पाएका छन् । कक्षा ८ देखि १० का विद्यार्थीले ऐच्छिक विषय पाएका छैनन् ।

पूर्वका विकट जिल्लामा ६ देखि १० का विद्यार्थीलाई आवश्यक पर्ने ५० प्रतिशत पनि हातमा परेको छैन । किताब नभएपछि टिफिन समयमा विद्यालय बिदा गर्ने गरेको प्राचार्य दुर्गा चूडालले बताए । ‘विद्यार्थीसित किताबै हुँदैन, कोर्ष अगाडि बढाउने कुरै भएन,’ उनले भने ।
पूर्वका ७ हजार ४ सय सामुदायिक विद्यालयमा यसपालि पढ्ने विद्यार्थीले विगतझैं किताब पाएका छैनन् । संखुवासभाका करिब ४० हजार विद्यार्थीमध्ये कक्षा १ देखि ५ सम्म पढ्ने सबैको हातमा किताब छ । शिक्षा अधिकारी टंक गौतमका अनुसार कक्षा ६ र ७ का विद्यार्थीको हातमा मुस्किलले ३० प्रतिशत किताब छ । कक्षा ८ देखि १० सम्मका विद्यार्थीको हातमा ऐच्छिक किताब नै छैन । उनका अनुसार जिल्लाका किमाथांका, हटिया, पाथीभरा, चेपुवा, तावाखोला र मकालु जस्ता विकट गाविसका विद्यार्थीको हातमा १० प्रतिशत पनि किताब परेको छैन ।

भोजपुरमा पनि कक्षा ६ र ७ का विद्यार्थीको हातमा एक तिहाइ पनि किताब छैन । ओखलढुंगामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले पूरा सेट किताब पाएका छैनन् । शिक्षा अधिकारी वीरेन्द्रजंग थापाले विकट मानिने मुसिङ, नाजारटार, रावादोलुखोला र सिसिफल्याट गाविसका विद्यार्थीले अझै किताब पाएका छैनन् । ती गाविसमा पुग्न सदरमुकामबाट एक साता पैदल हिँडनुपर्छ ।

क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाकी निमित्त निर्देशक मोहन राईका अनुसार ८, ९ र १० का विद्यार्थीले आंशिक मात्रै किताब पाएका छन् । उनका अनुसार कक्षा ९ र १० को ऐच्छिक विषयका किताबको अभाव छ । विराटनगरस्थित केन्द्रको क्षेत्रीय कार्यालयले पूर्वका ११ जिल्लाका सामुदायिक विद्यालयलाई किताब वितरण गर्छ । कक्षा ६ र ७ मा यसपालि ९ लाख थानभन्दा बढी किताबको माग छ । तर केन्द्रसँग दुई लाखमात्र किताब भएको क्षेत्रीय प्रमुख राजेन्द्रनिधि तिवारीले बताए ।

कक्षा ८ देखि १० सम्मका लागि १३ लाख आवश्यकता पर्छ । तिवारीले भने ती कक्षामा ऐच्छिक विषयको अभाव छ । गतवर्षसम्म निजी क्षेत्रले छाप्दा समयमै उपलब्ध भएको थियो । ताप्लेजुङमा कक्षा ६ र ७ को पाठ्यपुस्तक छैन । स्टेसनरी व्यवसायी संघका अध्यक्ष दिनेश भट्टराई गतवर्ष तीन सय विद्यालयले लगेकोमा यो वर्ष दुई सयले मात्रै किताब लगेको बताए ।

धनकुटामा ६ र ७ कक्षाको किताब अभाव छ । किताब किन्न लिन जाँदा सधैं भोलि आउनु भन्दै फर्काउने गरेको विद्यार्थीहरूको गुनासो छ ।

‘२० लाख थान किताब फिनिसिङ हुँदैछ’
जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिल झाले २० लाख किताब फिनिसिङ गरेर बजार पठाएपछि अभाव नहुने बताएका छन् । ‘छपाइको काम लगभग सकियो,’ उनले भने, ‘दैनिक एक लाख ३० हजार थान किताब फिनिसिङ गरेर जिल्लामा पठाइरहेका छौं ।’ शुक्रबारसम्म ७५ प्रतिशत किताब बिक्री भइसकेको उनले बताए । विगतमा ५० प्रतिशत मात्रै बिक्री हुने गरेकोमा यसवर्ष प्रगति राम्रो रहेको उनले बताए । गतवर्ष असारसम्म एक करोड १४ लाख थान किताब बिक्री गरेकोमा शुक्रबारसम्म एक करोड पाँच लाख थान बिक्री भइसकेको उनले बताए ।

LIVE TV