१२ बैशाख २०७३, आईतवार

व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीले संविधान अनुसार जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने भएकाले चाँडै संसद् अधिवेशन आह्वान गरिने बताउनुभएको छ ।

नेपाल र बेलायतबीच दौत्य सम्बन्ध कायम भएको २०० वर्ष पुगेको अवसरमा बेलायत पुगेर फर्किने क्रममा सभामुख घर्तीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै संसद् नियमावलीको काम पनि टुङ्ग्याइने बताउँनुभयो ।

यस पटक बजेट चाँडै ल्याउने सरकारी तयारीवारे आफुलाई जानकारी गराईएकोले संसद अधिवेशनको आह्वान गर्न चाँडै तयारी थाल्ने उँहाको भनाई छ । बेलायती संसद्को औपचारिक निमन्त्रणमा सात सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै घर्ती वैशाख ४ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

प्रतिनिधिमण्डलले नेपाल र बेलायत सम्बन्धका साथसाथै त्यहाँका संसदीय प्रणाली, संसदीय अभ्यास, संरचनाको अवलोकन र त्यहाँको एउटा प्रान्त उत्तरी आयरल्यान्डको पनि भ्रमण गरेको थियो ।

प्रतिनिधिमण्डलमा प्रमुख सचेतकहरु नेपाली काँग्रेसका चीनकाजी श्रेष्ठ, नेकपा (एमाले)का भानुभक्त ढकाल,  एकीकृत नेकपा माओवादीका हितराज पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलनाथ गिरीका साथै संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र सचिव मुकुन्दप्रसाद शर्मा पनि सहभागी थिए ।

LIVE TV