१२ बैशाख २०७३, आईतवार

कलाकारलाई तीन समूहमा वर्गीकरण गरी १३ सेलिब्रेटीलाई सरकारद्धारा कार्ड वितरण , चलचित्र क्षेत्रमा समर्पित व्यक्तिहरु हर्षित, आलोचनाको ज्वारभाटा पनि उठ्दै

pp

सरकारले कलाकारहरुलाई तीन समूहमा वर्गीकरण गरी १३ जनालाई सेलिब्रेटी कार्ड वितरण गरेर उनिहरुको  हकहितका लागि कामको थालनी गरेको बताएको छ । तर सम्मानको प्रारुप यस्तो बनेको छ की गुण चाहिँदैन, क्षमता चाहिँदैन, प्रतिभा वा योगदान केही चाहिँदैन, कामको अवधि नै राष्ट्रका लागि ठूलो योगदान हो, त्यही उसको क्षमता हो, प्रतिभा हो, विशिष्टता हो । उसलाई राज्यले सम्मान गर्नुपर्छ, विशेष सुविधा र अवसरहरू प्रदान गर्नुपर्छ । त्यसका लागि उसलाई सेलिब्रेटी कार्ड दिनुपर्छ ।

फिल्मकर्मीको योगदानको मूल्यांकन गर्दै विशिष्ट, वरिष्ठ र चलचित्रकर्मी परिचयपत्र प्रदान गरिएको सरकारको भनाई छ । तर, आलोचकहरु यस्तो भन्छन् की, देशमा होस् वा विदेशमा बसेर स्वदेशी चलचित्रको क्षेत्रमा १० वर्ष काम गरे चलचित्रकर्मी भइने, २० वर्ष काम गरे वरिष्ठ चलचित्रकर्मी भइने र २५ वर्ष काम गरे विशिष्ट चलचित्रकर्मी भइने अवसर सरकारले प्रदान गर्दै छ ।

विशिष्टको रंग रातो, वरिष्ठको नीलो र चलचित्रकर्मीलाई हरियो कार्ड दिइएको छ । विशिष्ट श्रेणीको परिचयपत्रलाई नवीकरणको आवश्यकता पर्ने छैन भने वरिष्ठ र चलचित्रकर्मीले भने ५⁄५ वर्षमा कार्ड नवीकरण गनुपर्ने हुन्छ । सम्पूर्ण फिल्मकर्मीलाई कार्ड बाढ्ने उद्देश्यसहित शुरु गरिएको कार्यक्रममा वैशाखभित्रमा श्रेणीअनुरूप कार्ड बाँढिसक्ने संचार मन्त्रालयको योजना छ ।

कतिपय कलाकारले यस्तो परिचयपत्रले कस्तो अर्थ राख्छ र कस्तो खालको गरिमा बोक्छ भन्ने मुख्य विषय भएको बताएका भने भने कतिपयले सरकारको यस्तो सम्मानले गर्विलो महसुस गरेको बताएका छन् । यद्यपी, कार्ड प्राप्त गर्ने कलाकारलाई राज्यले के–कस्तो सम्मान र सुविधा उपलब्ध गराउने भन्नेबारे भने निक्र्यौल हुन बाँकी नै छ । कतिपयले भने सरकारले ल्याएको सेलिब्रेटी कार्ड नीतिले कार्ड नपाउने कलाकारलाइ अपमानित हुनु परेको महशुस गराएको छ । नेपाली चलचित्रको समुचित विकास हुन सकेको छैन भन्ने राज्यलाई लागेको छ । त्यसैले नेपाली चलचित्रको विकास, विस्तार र प्रवद्र्धनका लागि राज्य सेलिब्रेटी कार्ड वितरणको महाअभियान प्रारम्भ गर्दैछ ।

सरकारको यो अभियानले चलचित्र क्षेत्रका थोरै मानिसहरू फुरुक्क छन् । बूढापाकाहरूको ग्रन्थी रसाएको छ । पञ्चायतकालदेखि नै चलचित्रमा काम गरेको हुँ भन्नु अब गौरवको विषय भएको छ ।  दराज खोतलेर धमाधम पुराना सम्झौतापत्रहरू खोज्न थालेका छन् । कति सालदेखि चलचित्रमा काम गरेको हो भन्ने प्रमाण जुटाउन उपाय निकालिरहेका छन् । पेसा छोडेको वर्षौंपछि एकाएक विशिष्ट र वरिष्ठ चलचित्रकर्मी हुन पाइने सौभाग्य प्राप्त भएको छ । साथीभाइ र इष्टमित्रहरूको अगाडि गर्वले भन्न पाइने छ, इः हेर म सेलिब्रेटी हुँ । पैसाका लागि बनाओस् कि अन्य कुनै प्रयोजनले बनाइयोस्, समाजप्रति जवाफदेही भएर बनाओस् कि गैरल जिम्मेवार भएर बनाओस्, उदात्त समाज निर्माणको ध्येय सहित बनाओस् कि समाजलाई विकृत तुल्याउने खालको बनाओस् जे होस् उसलाई सम्मान गर्नुपर्छ भन्ने प्रस्ताव सेलिब्रेटी कार्ड वितरणसम्बन्धी कार्यविधिले गर्छ, त्यो चलचित्र नीतिकै पनि विरुद्ध छ भन्दै ओलोचना गर्नेहरु पनि छन् । नयाँ पुस्ताका सचेत र प्रतिभाशाली चलचित्रकर्मीहरूलाई यसले अस्वीकार र तिरस्कार गरेको छ । नयाँ र सिर्जनशील प्रतिभाहरूलाई अवमूल्यन गर्दै पुरानाको गुणगान र संरक्षण गर्नुलाई मात्र सरकारले कलाकारको सम्मान ठानेको छ ।

 

LIVE TV