१२ बैशाख २०७३, आईतवार

भक्तपुर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाललाई धार्मिक पर्यटनका रुपमा विकास गर्न सरकारले विभिन्न योजना अगाडि सारेका बताउनुभएको छ ।

ananda-prasad-pokharel-660x330
आज मध्यपुरथिमिको श्यामाश्यामा धाम निकोसेरा टोल विकास समिति र श्रीमद्भागवत् तथा गौ संरक्षण केन्द्रको संयुक्त आयोजनामा आजदेखि सुरु भएको धनधान्याञ्चल महायज्ञको उद्घाटन गर्दै उहाँले विकासलाई धर्मसँग जोड्न सके देशको विकासले फड्को मार्ने बताउनुभयो ।

मन्त्री पोखरेलले भन्नुभयो, “विभिन्न धर्म संस्कृतिको धनी हाम्रो देश नेपाललाई धार्मिक पर्यटनको विकास गर्दै लगे छिटो विकास हुने र आर्थिक समुन्नत हुन्छ, त्यसैले सरकार यसतर्फ केन्द्रित भएको छ ।” नेपालका विभिन्न धर्मबीच धार्मिक समन्वय कायम गरेर अगाडि बढ्नु पर्नेमा जोड दिँदै उहाँले सबैले आ–आफ्नो धर्म, संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तारानाथ सुवेदी, टोल विकास संस्थाका नारायण घिमिरेलगायतले टोलको विकासका लागि धार्मिक कार्य आवश्यक रहेको चर्चा गर्नुभयो ।

यही वैशाख २० गतेसम्म सञ्चालन हुने महायज्ञमा भागवत वाचक गुरु अरविन्द शास्त्री गौतमले कथा वाचन गर्नुहुनेछ ।

कार्यक्रममा गौ संरक्षण केन्द्रका अध्यक्ष नारायणप्रसाद न्यौपानेले महायज्ञमा रु ६० लाख सङ्कलन गर्ने लक्ष्य लिएको जानकारी दिँदै सङ्कलित रकमबाट सामुदायिक भवन र गौशाला निर्माणमा खर्च गरिने बताउनुभयो । रासस

 

LIVE TV