एक वर्षअघि आएको भूकम्पमा परी ज्यान गुमाएका व्यक्तिको सम्झनामा आज यहाँ श्रद्धान्जलिसभा आयोजना गरियो ।
गत वर्ष वैशाख १२ गतेको भूकम्प र लगातारको परकम्पले महालक्ष्मी नगरपालिकाभित्र २८ जनाको ज्यान जानाका साथै करिब चार हजार घरमा पूर्ण रुपमा क्षति पुगेको थियो ।
भूकम्पपीडितलाई फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल, डेनमार्कस्थित गैसस डिसिए लगायत संस्थाले खाद्यान्न, लत्ताकपडा, अस्थायी बसोबास, शौचालय र आर्थिक सहयोग उपलब्ध गराएका थिए । भूकम्पबाट ज्यान गुमाएका २८ मध्ये पाँच अतिविपन्न मृतकका परिवारलाई आज पनि प्रतिपरिवार रु १० हजार उपलब्ध गराइयो ।
सांसद सिद्धिलाल सिंहले भूकम्पपीडितलाई छिटो राहत र आवासको व्यवस्था मिलाउन आफूले पहल गर्ने बताउनुभयो । डिसिएका प्रतिनिधि एन्ड्रोले भूकम्पपीडितलाई आगामी दिन पनि आवश्यक सहयोग उपलब्ध गराइने बताउनुभयो ।
काउन्सिलका अध्यक्ष सूर्यबहादुर थापाले सरकारी कामकारबाही छिटोछरितो गराउन दबाब दिनुपर्नेमा जोड दिँदै यस क्षेत्रलाई व्यवस्थित रुपले अघि बढाउन नगरपालिकाले अगुवाइ गर्नुपर्छ भन्नुभयो । नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले नगरको विस्तार, विकास र निर्माणमा आगामी दिनमा योजनाबद्ध रुपले अघि बढ्ने बताउनुभयो । रासस