११ बैशाख २०७३, शनिबार

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका सम्पूर्ण घटनाको जिम्मा आफूले लिने बताएका छन् ।

PR DANG

क्रान्तिकारी पत्रकार सङ्घ दाङले शनिबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले पार्टी अध्यक्ष र जनयुद्धको सर्वोच्च कमाण्डरको हैसियतले जनयुद्धमा भएका सम्पूर्ण घटनाको जिम्मा आफुले लिने बताएका हुन् ।

सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा द्वन्द्वकालीन मुद्दा टुग्याउनुपर्ने भन्दै अध्यक्ष प्रचण्डले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगका काम कारबाहीप्रति आफूहरुको कुनै आपत्ति नरहने उल्लेख गरे । ‘सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोग हामी माओवादीलाई चाहिएको थियो । हाम्रा विरुद्धमा जनयुद्धकै समयमा उजुरी हालिएको थियो’, अध्यक्ष प्रचण्डले भने, ‘म माओवादी मात्रै होइन सम्पूर्ण नेपाली जनतालाई द्वन्द्वकालीन घटनाको विरुद्धमा उजुरी दिन आग्रह गर्दछु ।’

सोह्र बुँदे सहमतिकै आधारमा देशलाई अगाडि बढाउनुपर्ने भन्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकारमा नेपाली काँग्रेस र मधेसी मोर्चालाई सहभागी बनाएर राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने धारणा राखे । वर्तमान सरकार परिवर्तन गर्ने भन्दा पनि यही सरकारमा सबैलाई सहभागी गराउने कार्यमा आफु लागि रहेको उनले बताए । अर्को फरक प्रशङ्गमा बोल्दै अध्यक्ष दाहालले अदालतका केही निर्णयप्रति आफूहरुको आपत्ति रहेको बताए ।

अदालतले आफूहरुलाई फसाउने नियतले गरेका निर्णयको विरुद्धमा सबै माओवादीलाई बोलाएर आफूले छलफल गरेको उनले उल्लेख गरे । रासस

LIVE TV