११ बैशाख २०७३, शनिबार

वीरगञ्ज । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको कार्यालय वीरगञ्जमा छ भन्ने धेरैलाई थाहा छैन । थाहा होस् पनि कसरी २०७२ साल भदौदेखि औपचारिक रूपमा सञ्चालनमा आएको निगमको कार्यालयले आठ महिनामा एउटा पनि उडान नगरी मासिक एक लाखभन्दा बढी खर्च गर्दै आइरहेको छ ।

सिमरा विमानस्थलबाट २०५५ सालसम्म नियमित उडान गर्दै आएकोमा विमानको अभाव तथा वायुसेवामा निजी क्षेत्रले प्रवेश पाएपछि निगमले २०५६ सालदेखि आफ्नो सबै उडान रद्ध गरी वीरगञ्ज कार्यालय बन्द गरेको थियो ।

plane-hi
निगमले १८ वर्षपछि सिमरा विमान स्थलबाट पुनः नियमित उडान गर्ने निर्णय गरी भदौ १ गतेदेखि वीरगञ्जको व्यावसायिक क्षेत्र आदर्शनगरमा कार्यालय स्थापना गरी सेवा सुचारु गर्ने निधो गरे पनि हालसम्म निगमले एउटा पनि उडान भर्न सकको छैन । कार्यालयका चारजना कर्मचारी दिनहुँ बिहान १० बजेदेखि साझ पाँच बजेसम्म कार्यालयमै समय बिताउने गरेका छन् ।
कार्यालय सञ्चालन गर्न घर भाडा मासिक १४ हजार र कर्मचारीको तलब र अन्य खर्च गरी लगभग मासिक एक लाख खर्च हुने गरेको निगमका कर्मचारी सीताराम ठाकुरको भनाइ छ । हामी नियमितरूपमा कार्यालयमा आउने गरेका छौं, काम नपाएर समय बिताउनुबाहेकको अन्य कुनै काम छैन उडान भर्न केन्द्रीय कार्यालयलाई गुहार्नुबाहेक हामी के नै गर्न सक्छौं ? ठाकुरको भनाइ छ ।
हाल सिमरा विमानस्थलबाट बुद्ध एयरवेजले नियमित रूपमा दैनिक छदेखि सातवटा उडान भर्दै आएको छ । सबै कर गरी निजी विमान कम्पनीले प्रतिव्यक्ति २७६५ रुपियाँ भाडा लिने गरेको छ । निगमले २४९० रुपियाँ तोकेको भए पनि उडान नै नहुने भएपछि  त्यसको कुनै अर्थ नभएको उपभोक्ता मञ्च पर्साका अध्यक्ष दिनाप्रसाद गुप्ताको भनाइ छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदिप केडियाले वीरगञ्जमा पनि निगमको कार्यालय खुलेको भने आफूलाई थाहा नभएको बताउनुभयो । निगमले उडान भर्न नसक्दा कार्यालय खुलेको नखुलेको कुरा थाहा पाउन मजस्ता धेरै उद्योगी व्यवसायी र सर्वसाधारणलाई थाहा हुन नसक्ने उहाँको भनाइ छ । – गोरखापत्र

 

LIVE TV