
स्पेनबाट घुम्न आएका पर्यटक शुक्रबार दरबार स्क्वायरस्थित पशुपतिनाथको मन्दिर अवलोकन गर्दै थिए । वत्सलादेवीको मन्दिर र पशुपतिनाथबीचको साँघुरो स्थानमा एक्कासि एउटा निजी कार आउँदा ती पर्यटक झस्किए । भूपतेन्द्र मल्लको सालिक अवलोकन गरिरहँदा पनि त्यहाँ लगातार मोटरसाइकल आइरहे । हर्नले आजित भएपछि उनीहरु हतारहतार तलेजु मन्दिर अवलोकन गर्न हिँडे ।
दरबार स्क्वायरमा सवारी साधन प्रवेश निषेध नगर्दा सम्पदा अवलोकनमा आएका पर्यटकलाई बाधा पुग्ने गरेको छ । शान्त वातावरण रुचाउने पर्यटक एक टकले सम्पदा नियालिरहँदा सवारी साधनका आवाज र हर्नले तर्सने उनीहरुको ध्यान भङ्ग हुने गरेको छ । पथ प्रदर्शक तथा स्थानीय पर्यटन व्यवसायी श्यामकाजी श्रेष्ठले स्पेनका नागरिक सान्द्रा फ्रेजोनिलको भनाइ उद्धृत गर्दै भन्नुभयो – “सम्पदा स्थलमा सवारी प्रवेश गराउनु दुःखद विषय हो । यसले अवलोकनमा बाधा पुगेको छ ।”
दरबार स्क्वायर परिसरमा गत वर्ष वैशाख १२ गतेको भूकम्पपछि सवारी प्रवेशमा रोक लगाउन छाडेको हो । दरबार स्क्वायरको पश्चिमपट्टिको खौमास्थित प्रवेशद्वार भूकम्पले भत्काएपछि नगरपालिकाले सवारी प्रवेशमा रोक लगाउन छाडेको हो । विशेषगरी खोज, उद्धार र भग्नावशेष व्यवस्थापन गर्न तथा नगरका अन्य मार्गमा अवरोध आएपछि सर्वसाधारणलाई आवागमनमा सहजता ल्याउन नपाले दरबार स्क्वायर परिसरमा सवारी प्रवेश अघोषित रुपमा खुल्ला गरेको थियो ।
सम्पदास्थलमा सवारी प्रवेशमा रोक नलगाउँदा भूकम्पले क्षति पु¥याएका सम्पदामा सवारी साधनको कम्पनले थप क्षति हुन सक्ने इतिहास तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । उहाँले विशेषगरी दरबार स्क्वायरका कलासङ्ग्रहालय, ५५ झ्याले दरबार र त्यसभित्र रहेका विभिन्न प्रकारका भित्तेचित्रमा सवारी साधनको कम्पनले क्षति पु¥याउन सक्ने चिन्ता व्यक्त गर्नुभयो ।
“सवारी साधनले दरबार स्क्वायर परिसरमा बिच्छ्याएका इँटा फुटेर कुरुप बन्न थालेका छन्,” उहाँले भन्नुभयो । निर्वाध रुपमा सवारी प्रवेशले भक्तपुरको पर्यटन व्यवसाय धराशायी हुन थालेको छ । नपालाई पटक पटक सवारी प्रवेशमा रोक लगाउन अनुरोध गरेपनि सुनुवाइ नभएको श्रेष्ठको भनाइ छ ।
भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष लक्ष्मी सुवाल पर्यटकको गुनासोलाई लिएर पटक पटक छलफल गरिए पनि दरबार स्क्वायर परिसरमा सवारी रोक लगाउने विषयमा नपाले बेवास्ता गर्दै आएको बताउनुहुन्छ । टौमढी र दत्तात्रय स्क्वायरमा समेत सवारी प्रवेशमा रोक लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रका सूचना अधिकृत दामोदर सुवालले दरबार स्क्वायर परिसरमा सवारी आगमनले पर्यटकलाई बाधा पर्ने गरेको स्वीकार गर्दै त्यसलाई रोक्न पहल गरिरहेको बताउनुभयो । खौमास्थित प्रवेशद्वार निर्माणसँगै स्क्वायरमा सवारी प्रवेशमा रोक लगाइने उहाँको भनाइ छ । प्रवेशद्वार निर्माणका लागि स्थानीय उपभोक्ता समिति गठन गरी सम्झौता भइसकेको छ ।
बिस्केट जात्राका कारण निर्माण कार्य ढिला भएको र अब छिट्टै निर्माण कार्य सुरु हुने सुवाल बताउनुहुन्छ । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले विशेष पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका इञ्जिनियर मोहनकृष्ण श्रेष्ठ नपाले नै स्क्वायर परिसरमा सवारी प्रवेशमा रोक लगाउन आनाकानी गर्दै आइरहेको बताउनुहुन्छ ।
“नगरपालिका आफ्नो जिम्मेवारीबाट पन्छिने गरेको छ” उहाँले भन्नुभयो । पुनःनिर्माण प्राधिकरणले भूकम्प गएको एक वर्ष पुगेको दिन वैशाख १२ गतेबाट पुरातात्विक महत्वका सम्पदा पुनःनिर्माण थालनी गर्ने जनाएको छ । सो अवसर पारेर जिल्ला प्रशासन, प्रहरी, नपासहितको संयुक्त पहलमा दरबार स्क्वायरमा सवारी प्रवेशमा रोक लगाउने तयारी भइरहेको छ । रासस