१० बैशाख २०७३, शुक्रबार

पाँचथर तथा ताप्लेजुङका विभिन्न गाउँ छिचोल्दै ओलाङचुङगोलाको टिप्ताला नाका हुँदै चीन जोड्ने सडकलाई सरकारको प्राथमिकतामा नपरेकोमा स्थानीयबासीले गुनासो गरेका छन् । उत्तरी र दक्षिणी नाका जोड्न छोटो सडक हुने राष्ट्रिय योजना आयोगबाट चालु आर्थिक वर्षमा ‘तमोर कोरिडर’ नामाकरण भएपनि बजेट, निर्माणको प्राथमिकता तथा लक्ष्यका हिसाबले प्राथमिकतामा पर्न नसकेको स्थानीयवासी बताउँछन् ।

tt

दुर्गम गाउँका बासिन्दाले समेत राहत पाउने यो सडकमा सरकारको ध्यान नपुगेको स्थानीयवासीको भनाइ छ । चालु आर्थिक वर्षमा पनि कम बजेट परेको यो सडकखण्डमा ‘तमोर करिडर’ नामाकरण भएपनि आगामी आर्थिक वर्षका लागि पनि प्राथमिकतामा राखेर बजेट छुट्याउने प्रयास नभएको बताइँदैछ । आगामी आर्थिक वर्षका लागि बजेट तयार गर्ने समय चलिरहँदा यो सडकका लागि प्राथमिकतामा राखेर बजेट बनाउने काम नभएको सडक विभाग स्रोतले जानकारी दिएको छ ।

अर्को आर्थिक वर्षमा पनि थोरै बजेट मात्र आउने अनुमान इन्जिनियरले लगाइरहेका छन् । बजेट तयार भइरहँदा यो सडकका लागि ठूलो बजेट नआउने सङ्केत प्राप्त भएको छ । ताप्लेजुङ, पाँचथर र तेह्रथुमका गाउँलाई तराईका सुविधायुक्त सहरमा छिटो बाटो भएर जोड्ने विकल्पका रुपमा यो सडकलाई लिइएको छ ।

चीनसँग पारस्परिक व्यापारिक सम्बन्धसँग ताप्लेजुङका विभिन्न विकट गाउँलाई यो सडकले राहत पु¥याउने भएपनि प्राथमिकतामा नपर्दा स्थानीयवासी रुष्ट छन् । ताप्लेजुङका सीमावर्ती गाउँ चिनियाँबजारमा निर्भर छन् ।

यो सडकको डिपिआर तयार भइसकेको छैन । मूलघाटदेखि १८० किलोमिटरमा टिप्ताला नाका पुगिने अनुमान रहेको छ । टिप्तलादेखि २६० किलोमिटरमा विराटनगरको रानीभन्सार पुगिने भएकाले उत्तर दक्षिण जोड्ने उपयुक्त नाका भएको सिनियर डिभिजनल इन्जिनियर कुवेर नेपाली बताउँनु हुन्छ । अहिले पाँचथर र ताप्लेजुङको सुरुवाती खण्डमा ट्र्याक खोल्ने काम मात्र भइरहेको छ । टिप्तालादेखि ६० किलोमिटर टाढा रहेको चीनको सिगात्सेसम्म रेल आउँछ । सिगात्सेदेखि दशगजा क्षेत्रसम्म उतातर्फ सडक रहेको नेपालीले बताउनुभयो ।

पूर्वी पहाडका गाउँलाई चीनसँग सडकले जोड्नका साथै छिटो र सहज बाटो भएकाले यो सडक महत्वपूर्ण रहेको नेपालीले उल्लेख गर्नुभयो । मूलघाटबाट पाँचथरको लुवघाट–माझिटार– लिम्बुनी पुल हुँदै ताप्लेजुङको दोभान–ओलाङचुङगोला हुँदै चीनलाई यो सडकले छुन्छ ।

यो सडकमा मूलघाटदेखि पाँचथर सदरमुकाम फिदिमसम्म चालु आर्थिक वर्षमा गाडी चल्ने बनाउनका लागि सडकको ट्र्याक खोल्ने काम भइरहेको छ । सो सडकखण्डको १८० किलोमिटर मध्ये ११० किलोमिटरमा मात्र ट्र्याक खुल्न बाँकी रहेको बताइएको छ । रासस

LIVE TV