९ बैशाख २०७३, बिहीबार

खोल्सामा फल्ने सुनको उपमा पाएको अलैची खेती अब मुुलुकको पश्चिमी भेगको पनि महत्वपूर्ण नगदे बाली वन्न थालेको  छ । कृषि उपजका लागि उर्वर मानिएको लमजुङमा पनि विगत केही बर्षदेखि अलैचीका विरुवाहरुले खोल्साखोल्सीमा स्थान पाउन थालेको छ । लमजुङको विकट पसगाउँका अगुवा कृषकहरुले पनि अलैची खेतीलाई आफ्नो कान्लाहरुमा सजाउन थालेका छन् ।

ALI

पसगाउँमा अलैची खेती फस्टाएपछि यसबाट प्रभावित भएर बैदेशिक रोजगारीमा गएका युवाहरु पनि गाउँ फर्किएर अलैची खेतीमा जुटेका छन् । ८ सय मिटरदेखि २ हजार मिटरसम्मको उचाईमा राम्रो मानिने अलैँची खेति पसगाउँमा फस्टाएपछि कृषि विज्ञहरु पनि अचम्ममा परेका छन् ।

परम्परागत कृषिमा लाग्दा दुख धेरै हुने र मेहनत अनुसारको फल नपाउने भएकाले अलैँची खेतिमा लागेको स्थानीय अलैँची किसानहरुले बताएका छन् । विकासका पुर्वाधारको अभावमा गाउँलेहरु शहरबजार तर्फ बसाईसराई हुन थालेपछि त्यसलाई रोक्न अलैँची खेतितर्फ लागेको स्थानीय प्रगतिशील अलैँची कृषक समुहका अध्यक्ष होमबहादुर गुरुङले बताउनुभयो ।

पसगाउँमा मात्र अहिले पाँचसय रोपनी भन्दा बढी क्षेत्रफलमा अलैँची खेति गरिएको छ । गाउँ बाहिरबाट अलैँचीको विरुवा ल्याउँदा झण्डै पाँच घण्टा मानिसले बोकेर ल्याउनुपर्ने समस्याका कारण गाउँमै नर्सरी समेत स्थापना गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको सहयोगमा स्थापना गरिएको नर्सरीमा दुई लाख विरुवा उत्पादन भएको छ ।

पसगाउँ र सिङ्दीमा अहिले समुह बनाएर अलैँची खेति गरिरहेको र यसबाट प्रत्यक्ष रुपमा ७५ प्रतिशत स्थानीयबासी लाभान्वित हुने समुहका अध्यक्ष गुरुङको भनाई छ । लमजुङ ३ वटा मुख्य बालीहरुमध्ये अलैची छनौट भएको बताउँदै जिल्ला कृषि विकास कार्यलयका बरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले यसबर्ष मात्रै जिल्लाबाट १३ करोडको अलैची बिक्री भएको जानकारी दिनुभयो ।

अहिले जिल्लाको अधिकांश गाविसहरुमा ब्यवसायिक रुपमा अलैची खेती विस्तार भएको छ । मकै, आलु लगायतका बाली लगाउनु भन्दा सिँचाई पुगेका ठाउँमा अलैची रोप्दा किरा फटयाङग्रा तथा अन्य जनावारले पनि दुःख नदिने र राम्रो आम्दानी हुने निष्कर्षमा कृषकहरु पुगेका छन् ।

सरोकारवाला संघ संस्थाहरुले परम्परागत प्रबिधिबाट अलैंची खेती गर्दै आएका किसानहरुका लागि नयाँ प्रविधिबाट अलैंची खेती गर्ने सीप तथा तालिमको व्यवस्था गरिदिनु पर्ने र अलैची भट्टी तथा सिंचाईको लागि पहल गरिदिन किसानहरुले कृषि कार्यलय समक्ष आग्रह गरेका छन् ।

 

LIVE TV