
मातृ शिशु मृत्युदर कम गर्न सुनौला हजार दिन अभियान बिहीबार देखि सुरु भएको छ । यसअघि सुनौला हजार दिन कार्यक्रम सञ्चालन गरेको सरकारले पहिलो पटक अभियान चलाएको हो । यस अभियानकोलागि युनिसेफले राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सद्भावना दूत नियुक्त गरिएको छ ।
स्वास्थ्य मन्त्रालय, युनिसेफ र पोषण तथा खाद्य सुरक्षा सचिवालय लगायतको समन्वयनमा सुनौला हजार दिन अभियान सुरु भएको हो । पहिलो चरणमा बिहीबारदेखि ६ जिल्ला पर्सा, नवलपरासी, पाँचथर, अछाम, बाजुरा र जुम्लामा अभियान सुरु गरिएको युनिसेफले जनाएको छ ।
युनिसेफका अनुसार यी ६ जिल्लाका ९० गाविसमा अभियान चल्नेछ । यसपछि अरु जिल्लामा पनि अभियान सुरु हुने छ । गर्भवती भएको दिनदेखि बच्चा दुईवर्ष पूरा नहुन्जेलसम्म विशेष पालन पोषणका लागि सुनौला हजार दिन अभियान सञ्चालन गर्न लागिएको हो । यो अभियानलाई प्रभावकारीरुपमा सफल बनाउन सवै उपायहरुको अवलम्वन गरिने स्वास्थ्य मन्त्री रामजनम चौधरीले जानकारी दिनुभयो ।
सन्तुलित खानेकुरा, सरसफाइ, सुरक्षित सुत्केरी र बालबालिकाको पोषणमा जोड दिएकाले अभियानमार्फत मातृ शिशु मृत्युदर कम गर्न र बालबालिकालाई कुपोषण हुन नदिन टेवा पुग्ने अपेक्षा छ । दुई वर्षभन्दा कम उमेरका बालबालिकामा न्यून पोषणले बच्चाको रोग प्रतिरोधात्मक प्रणालीलाई कमजोर बनाउँछ, जसले गर्दा निमोनिया, झाडापखाला तथा औंलोजस्ता रोग लाग्ने जोखिम धेरै हुन्छ ।
हजार दिनको अवधिमा आमा र बच्चाले सही किसिमको पोषण पाए क्षयरोग, औलो तथा एचआईभी÷एड्स जस्ता रोगको जोखिम कम हुने अनुसन्धानकर्ताले बताएका छन् । बालबालिकाको ८० प्रतिशत दिमागको विकास यसै अवधिमा हुने भएकाले हजार दिनलाई निकै महत्वका साथ लिइन्छ ।
यस बृहत अभियानलाई थप प्रभावकारी एवं उपलव्धिमुलुक बनाउन र प्रचारप्रसारमा टेवा पुगोस भनेर नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सद्भावनादूत नियुक्त गरिएको छ ।
मातृशिशु मृत्युदर कम गर्न सुनौला हजार दिन अभियान सुरु