९ बैशाख २०७३, बिहीबार

नेपालको विकासका साझेदार तथा सरकारी अधिकारीहरुले विकासका परियोजना कार्यान्वयनमा एकअर्काले समस्या देखाउने प्रवृत्तिको अन्त्य गर्दै तिनको समाधानमा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।
एसियाली विकास बैंक (एडिबी)को सहयोगमा मुलुकमा सञ्चालित विकास परियोजनाको समीक्षा गर्न आज यहाँ आयोजित बैठकमा परियोजना सम्बद्ध उच्च सरकारी अधिकारी र एडिबीका पदाधिकारीहरुले समस्या समाधानमा पारस्परिक सहकार्यको आवश्यकता औँल्याएका हुन् ।

बैठकमा एडिबीको ऋण सहयोगमा सञ्चालित २३ र अनुदान सहायतामा सञ्चालन भइरहेका २१ वटा परियोजनाका यस वर्षका निर्धारित लक्ष्य र तिनका उपलब्धिबारे विस्तृत छलफल भएको थियो ।
परियोजनाका काम दु्रत गतिमा कार्यान्वयन गर्न तथा तिनलाई निर्धारित समयमै पूरा गर्न सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्नेमा बैठकमा सबैको मतैक्य रह्यो ।

बैठकमा विद्युत् प्रसारण विस्तार तथा आपूर्ति सुधार, ऊर्जा प्रणाली विस्तार, तनहुँ जलविद्युत् आयोजना, मेलम्ची खानेपानी आयोजना, काठमाडौँ उपत्यका ढल व्यवस्थापन, काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार एकीकृत सहरी वातावरण सुधार, एकीकृत वाग्मती नदी किनार सुधार र एकीकृत सहरी विकास परियोजनामा केन्द्रित रहेर छलफल भएको थियो ।

त्यसैगरी बैठकमा दक्षिण एसिया पर्यटन पूर्वाधार विकास, हवाई यातायात क्षमता अभिवृद्धि, काठमाडौँ दिगो सहरी यातायात परियोजना, भूकम्पपछि विद्यालय भवन निर्माण एवम् शिक्षासँग सम्बन्धित सहायता आयोजनाको पनि समीक्षा भएको थियो ।

कृषि, प्राकृतिक स्रोत, ग्रामीण विकास, जलाधार, जलवायु अनुकूल परिस्थितिकीय प्रणालीको विकास, परियोजनाका चुनौती, समस्या समाधानमा सरकारी एवम् गैरसरकारीस्तरमा भएका कामबारे पनि बैठकमा छलफल भएको थियो ।

एडिबीका देशीय निर्देशक केनिची योकोयामाले बंैकको सहयोगमा सञ्चालित परियोजनाका समस्या समाधान गर्न बैठकले मार्गनिर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस वर्ष विभिन्न परियोजनामा ४१ करोड ४० लाख अमेरिकी डलर बराबरको करारनामा हुने र २४ करोड ६० लाख डलर वितरण हुने अपेक्षा गरिएको बताउनुभयो ।

एडिबीको दक्षिण एसिया विभागका नायब महानिर्देशक दिवेश शरणको सभापतित्वमा भएको समीक्षा बैठकमा अर्थमन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्यालले विकास साझेदारका समस्या समाधान गर्न नेपाल सरकारले हरतरहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

 

LIVE TV