९ बैशाख २०७३, बिहीबार

नेपाल-भारत सीमावर्ती बजार नौतनवामा घरपरिवारका लागि उपहार किन्ने  क्रममा साथमा नक्कली भारु नोट भेटिएपछि स्थानीय प्रहरी-प्रशासनले पाँच नेपाली शिक्षकलाई जेल चलान गरेको छ ।

दिल्ली/आग्राको एक साता लामो शैक्षिक/धार्मिक भ्रमण पूरा गरेर गत चैत २९ (अपि्रल ११) मा सुनौली नाका हुँदै घर फिर्ने क्रममा रहेका यात्रु शिक्षकले नजिकैको नौतनवा बजारमा उपहार किनमेल गरेका थिए ।

indianmoney

चितवन नगरपालिका-१२,  दिव्यनगरस्थित युवा माध्यमिक विद्यालयका शिक्षकहरु जीवाखर ढकाल, अम्बिकाप्रसाद घिमिरे, कृष्णचन्द्र सापकोटा, अच्युत घिमिरे -कर्मचारी) र शिवभक्त पण्डित -निवृत्त शिक्षक) नक्कली नोटको परिबन्दमा परेर कानुनी कारबाहीमा परेका हुन् । शैक्षिक भ्रमणमा भने शिक्षक, कर्मचारी तथा तिनका परिवार गरेर २८ जना भारत आएका थिए । नक्कली रुपैयाँ साथमा भेटिएका पाँचबाहेक अरू सबै यात्रु चितवन घर पुगिसकेका छन् ।
थुना पर्नेमध्येका एक आफन्त हाल साउथ एसिया युनिभर्सिटीमा अध्यापनरत युवराज पोखरेलका अनुसार पाँचैजनालाई एक सातायता कानुनी कारबाहीका क्रममा नौतनवा प्रहरीचौकी हुँदै अहिले महाराजगन्ज जिल्ला अदालतमा लगिएको छ । चितवन छँदै स्थानीय एजेन्टमार्फत् साटेको भारतीय पैसामध्ये चार हजार रुपैयाँ नक्कली भेटिएको र त्यही प्रमाणका आधारमा प्रहरीले कारबाही अघि बढाएको आफूले ढिलो गरी जानकारी पाएको पोखरेलले बताए । यो घटनाबारे पोखरेलले नेपाली दूतावासलाई जानकारी गराइसकेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

LIVE TV