
कर्णालीमा लम्बिदो खडेरीले चरम खाद्यान्न अभाव हुने गाविसहरु थपिदै, मुलुकमा खाद्यान्न पुर्याउने प्रतिबद्धता नभई खाद्यान्न पुर्याउन आवश्यक
कर्णालीमा देखिएको यो खडेरी अझै लम्बिने संकेत देखिएको छ । ४० बर्ष यताकै लामो खडेरीको सामना गरिरहेको कर्णाली क्षेत्रको मौसम अहिले पनि सुख्खा छ र अझै केही समय सुख्खा नै रहने अवस्था छ । मुगु, हुम्ला, जुम्ला, डोल्पा र कालिकोट जिल्लामा चरम खाद्यान्न अभाव हुने गाविसहरु थपिदै गएका छन् ।
खडेरीले खाद्य संकट उत्पन्न भए पछि कर्णाली अन्चलका सबै जसो गाउँका प्राय युवाहरु भारत पलायन भएका छन् र उनीहरुले नै पठाएको पैसाले अहिलेसम्म जेनतेन मानिसहरु बाँचिरहेका छन् । यस्तो अवस्थाका बीच पुग्ने नेताहरुलाई उनीहरु हारगुहार गरिरहेका छन् र नेताहरुले पनि समस्या समाधान गर्ने बताइरहेका छन् तर व्यवहारमा कर्णालीवासीका माग पूरा भएको छैन ।
पछिल्लो पटक कर्णाली पुगेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पनि कर्णालीवासीले यस्तै गुनासो गरे र उनले पनि खाद्यन्न संकट समाधानका लागि पहल गर्ने बताए ।
तर, अझै खाद्यन्न कर्णाली पुगेको छैन । त्यसअघि पुगेका कृषिमन्त्री हरिवोल गजुरेललाई पनि यस्तै गुनासो कर्णालीवासीले सुनाएका थिए र उनले पनि यस्तै प्रतिवद्धता जाहेर गरेका थिए । अहिले जो जो कर्णाली पुगेका छन् उनीहरु सबैलाई यही पीडा सुनाइन्छ र उनीहरु समाधान गर्ने प्रतिवद्धता गरेर फर्किरहेका छन् तर व्यवहारमा भने उनीहरुका प्रतिवद्धता पूरा भएको छैन ।
खडेरीका कारण उत्पन्न खाद्य संकट टार्न ग्रामीण क्षेत्रका युवा भारत पलायन हुनु, समयमा नै सरकारी तथा गैरसरकारी निकायबाट विकास निर्माणका कार्यहरु सञ्चालन नहुँदा जनताको क्रय शक्ति घटेका कारण खाद्यान्न किन्न सक्ने अवस्थामा उनीहरु छैनन् ।
जिल्ला खाद्य व्यवस्थापन समितिले अर्थ मन्त्रालय, आपुर्ति मन्त्रालय, नेपाल खाद्य संस्थान केन्द्रीय कार्यालय र प्रधानमन्त्रीको कार्यालयमा आपतकालीन राहत र खाद्यन्न अनुदानका लागि पहल गर्न अनुरोध गरेको लामो समय वितिसक्दा समेत खाद्यन्न जिल्लामा पुगेको छैन । चरम खाद्य संकट व्यहोरिरहेका कर्णालीवासीलाई प्रतिवद्धता होइन खाद्यन्न चाहिएको छ । त्यसैले सरकारले तत्काल ती ठाउँमा खाद्यन्न पु¥याएर खडेरीका कारण पीडित कर्णालीवासीलाई राहत दिन जरुरी छ ।