७ बैशाख २०७३, मंगलवार

जनकपुरका नागरिक समाजका अगुवा र राजनीतिक दलका प्रतिनिधिहरुले राज्यको उदासिनता र मधेशप्रतिको विभेदको कारण अवधारणा आएको ६ दशक बितेपनि हुलाकी राजमार्ग निर्माण हुन नसकेको गुनासो गरेका छन । उनीहरुले राज्यले तराई मधेसलाई हेर्ने दृष्टिकोणको ज्वलन्त उदाहरण हुलाकी मार्ग बनेको आरोप समेत लगाएका छन् ।

hulaki-marg_650

संसदीय विकास समितिले मंगलबार जनकपुरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रमका सहभागी सबैले राज्यको विभेद र उदासिनताले बिक्रम सम्वत् २००६ सालमा आएको हुलाकी राजमार्गको अवधारणा पूरा हुन नसकेको गुनासो गरे ।

विकास समितिका आधा दर्जनभन्दा बढी सभासद उपस्थिति विकास समितिको अन्र्तक्रियामा बोल्ने अधिकांश राजनीतिक दलका प्रतिनिधि तथा नागरिक समाजका ब्यक्तिले मधेशको लाइफलाईनको संज्ञा दिइएको हुलाकी राजमार्गको निर्माण कार्य अबिलम्ब सुरु गर्न माँग समेत गरे ।

नेपाली काँग्रेस, एकीकृत माओवादी, तमलोपा, राष्ट्रिय मधेश समाजवादी पार्टी, माओवादी क्रान्तिकारीसहितको पार्टीका प्रतिनिधिहरुले दातृ निकायले निर्माण गरिदिने भन्दै निर्भर रहनु नेपाल सरकारको कमजोरी र विभेदको नमूना रहेको दाबी गरे ।

१७ सय ७० किलोमिटरको हुलाकी राजमार्ग निर्माणको ठेक्का पटक पटक लागेको भएपनि निर्माण कार्य हुन सकेको छैन् । पहिलो चरणमा ६ सय ७० किलोमिटरको हुलाकी राजमार्ग भारतले निर्माण गर्ने भनिएपनि कन्सल्टेन्ट नियुक्ति प्रकृयामा भएको ढिलाइले गर्दा सम्झौता हुन नसकी निर्माण कार्य अझै सुरु हुन सकेको छैन् । विकास समितिका सभापति रवीन्द्र अधिकारीले आगामी ३ देखि ५ वर्षभित्र हुलाकी राजमार्गको १७ सय ७० किलोमिटर निर्माण सम्पन्न गर्ने लक्ष्यसहित पाँच महिनाभित्र निर्माण कार्य सुरु गराउन हुलाकी राजमार्गको आयोजना निर्देशक बलराम मिश्रलाई निर्देशन दिनुभयो ।

अन्र्तक्रियामा सांसदहरु महेन्द्र यादब, रामकुमार भट्टराइ, दिनेशप्रसाद साह, मोहम्मद जाकिर हुस्सैन, राम अवतार पासवान लगायतले हुलाकी राजमार्ग निर्माणलाई अन्तिम रुप दिन आफूहरु हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

 

LIVE TV