७ बैशाख २०७३, मंगलवार

यहाँका विभिन्न ठाउँमा रहेका खानी संरक्षण र उत्खननको पर्खाइमा रहेका छन् ।

तामा, स्लेट (घर छाउने ढुङ्गा), सिलाजित, खरी, चुनढुङ्गाका खानी वर्षाँैदेखि उत्खनन हुन नसकेका अवस्थामा छन् भने संरक्षण हुन नसकेपछि पुरिँदै गएका छन् । खानीहरुको सम्भाव्यता अध्ययन गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन् । तर रुम र लुलाङमा रहेका स्लेट खानीबाट परम्परागत रुपमा उत्खनन भने भइरहेको छ ।

mmmm

भगवतीको खरिढुङ्गा खानी एक वर्षदेखि बन्द छ । स्थानीय बूढापाकाका अनुसार यहाँ तामा खानी २०० वर्षसम्म सञ्चालनमा थिए । तत्कालीन सरकारले खानी उत्खनन गरेबापत लिने कर (भेजा) तिर्न नसकेपछि खानी उत्खनन कार्य बन्द भएको थियो ।

राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा खानी उत्खनन गरेर हुने आम्दानी भन्दा बढी कर तिर्नुपर्ने अवस्था आएपछि तामा खानी बन्द भएको ताकम– ९ मच्छिमका चन्द्रबहादुर छन्त्याल बताउनुहुन्छ । “तत्कालीन सरकारको कर नीतिका कारण हाम्रा पूर्खाले उत्खनन गर्न छाडेका हुन्” उहाँले भन्नुभयो ।

गुर्जा, ताकम, कुइनेमङ्गले, ओखरबोट, मल्कवाङ, भकिम्ली गाविसमा करिब बीसवटा तामा खानी रहेका छन् । उत्खननका लागि छन्त्याल समुदायलाई जिम्मेवारी दिइएको थियो । विसं २०६८ को जनगणनाअनुसार छन्त्याल जातीको जनसङ्ख्या एघार हजार रहेको छ । परम्परागत पेसाबाट विस्थापित उनीहरु पछिल्लो समय वैदेशिक रोजगारी र अन्य पेसामा आवद्ध भएका छन् । म्याग्दी र बागलुङको बुर्तिवाङ क्षेत्र छन्त्याल समुदायको परम्परागत थातथलो हो ।

छन्त्याल समुदायले उत्खनन गरेका धातु दलित समुदायले प्रशोधन गरेपछि थकाली समुदायले देशका विभिन्न स्थानमा लगेर बिक्री गर्ने गर्दथे । त्यतिबेला छन्त्याल समुदायले माटो सुघेर पनि खानी पत्ता लगाउने गरेको ताकम– ८ सिवाङ का गिरिप्रसाद छन्त्यालको भनाइ छ ।

“यहाँका खानीको सम्भाव्यता अध्ययन र संरक्षण आवश्यक छ” उहाँले भन्नुभयो । खानी रहेका ठाउँ अहिले पुरिँदै गएका छन् । खानी उत्खनन गर्न सयाँै मिटर लामो सुरुङ खनिएका अझै यहाँ भेटिन्छन् । प्रशोधनपछि काम नलाग्ने भएर फालिएका धातुका टुक्रा यत्रतत्र छरिएर रहेका अझै भेट्टिन्छन् ।

तत्कालीन अवस्थामा छिना, गल, घन, कुटो, कोदालोको प्रयोग गरेर खानी उत्खनन गर्ने चलन थियो । खानी उत्खनन गर्न सरकारले कदम चाल्नुपर्ने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनबहादुर विश्वकर्माको भनाइ छ । नीतिगत रुपमा सहज र पूर्वाधारको विकास भए खानी उत्खननका लागि लगानीको कुनै समस्या नहुने उहाँ बताउनुहुन्छ । रासस

 

LIVE TV