६ बैशाख २०७३, सोमबार

नेपालको स्वास्थ्य सेवा ऐनको दफा १९ अनुसार स्वास्थ्य मन्त्रालयमा सचिव प्राविधिक तह कै व्यक्ति अर्थात् स्वास्थ्य क्षेत्रकै व्यक्ति हुनु पर्ने प्रावधान छ । तर हाल सचिब पदमा विराजमान व्यक्ति प्राविधिक क्षेत्रको नभएको प्रति स्वास्थ्य व्यवसायी संघले आपति जनाएको छ । संघले ऐन बिपरितको निर्णय सच्याएर कानूनको सम्मान गर्न सरकारलाई आग्रह समेत गरेको छ ।

नेपालको स्वास्थ्य क्षेत्रलाई विकृति विसंगति र राजनीतिक दबाबबाट मुक्त गराउन समय समयमा आवाजहरु उठ्दै आएको छ । स्वास्थ्यकर्मी संघले पटक पटक स्वास्थ्य समूहकै कर्मचारी सचिव नियुक्त गर्न सरकारलाई ध्यानाकर्षण गर्दै आएको २१ महिना पूरा भएपनि सरकार भने कानमा तेल हालेर बसेको छ । ऐन नियम एकातिर कुम्लो बोकी ठिमीतिर भने झैँ भएको छ स्वास्थ्य क्षेत्रमा । स्वास्थ्य सचिब स्वास्थ्य क्षेत्र कै हुनु पर्ने प्रावधान सजिएको छ ऐनमा । ऐन नियम बनाउनेहरुनै ब्यापारमुखी भएकोले ऐनको खिल्ली उडेको सरोकारवालाहरुको भनाइ छ । पछिल्लो समय स्वास्थ्य क्षेत्रमा ब्यबस्थापन कमजोर रहेको भन्दै संघले ऐन बिपरितका स्वास्थ्य सचिव नियुक्ति गर्दा स्वास्थ्य क्षेत्र सुधार हुन नसकेको जिकिर गरेको छ । त्यसो त नेपाल चिकित्सक संघले पनि स्वास्थ्य सेवा ऐन विपरित प्रशासन समूहका शान्तबहादुर श्रेष्ठलाई स्वास्थ्य सचिव नियुक्त गरेपछि असन्तुष्टि जनाउँदै आएको छ । वर्तमान स्वास्थ्य मन्त्री रामजनम चौधरीले २०७२ माघमा १५ दिनभित्र ऐनको प्रावधान अनुरुप स्वास्थ्य क्षेत्रकै सचिव बनाउने प्रतिबद्धता व्यक्त गरेको भएपनि अहिले सम्म ऐन अनुसार स्वास्थ्य सचिव परिवर्तन गरिएको छैन । स्वास्थ्य क्षेत्रमा मात्र नभई हरेक क्षेत्रमा सो क्षेत्रमा विज्ञता हासिल गरेको व्यक्तिलाई जिम्मेवारी दिए सुनमा सुगन्ध थपिने भने निश्चित छ ।

LIVE TV