
नेपाली समाजमा कृषि तथा पशुपालनलाई हेयको रुपमा हेरिने गरिन्छ । तर यही हेयको दृष्टिले हेरिने पेशाबाट गोरखा च्याङलीका गाईपालक किसान राजेन्द्रराज पन्तको जीवन भने फेरिदिएको छ । उनि गोरखाको मात्रै नभएर सिंगो मुलुककै सफल कृषक समेत सावित भएका छन् ।
गोरखास्थित पालुङटार नगरपालिका वडा नं ३ च्याङ्लीका राजेन्द्रराज पन्तले मुलुककै सबैभन्दा ठूलो गाईफारम हाँकिरहेका छन् । २०५२ सालमा उराठ लाग्दो ४ सय रोपनी पाखामा घाँस रोपेर पन्तले गाईपाल्न थालेका हुन् । राजधानीबाट इतिहास र राजनीति शास्त्र विषयमा स्नातक गरी गाउँमै कृषि क्रान्ति गर्न फर्किएका पन्तले २०३० सालबाट उन्नत जातका फलफुल रोपेर कृषि कार्यको थालनी गरेका थिए । उनले शुरुमा आँप, लिची र केरा लगाएका थिए । फलफुलबाट राम्रो राम्रो आम्दानी लिन नसकेपछि पन्तले २०५२ सालमा ७ वटा गाइ पालेर पशुपालन तर्फ फर्किए । २०५२ साल चैतबाट सातवटा गाईबाट गाईपालन शुरु गरिएको यस कामधेनु गाईपालन केन्द्रमा हाल विभिन्न जातका गरी कुल २ सय ७५ वटा गाईहरु रहेका छन् । यीमध्ये पन्तको गाइगोठमा अहिले १ सय २५ वटा गाईले निरन्तर दुध दिदै आइरहेका छन् । पन्तले दैनिक रुपमा १२ सय लिटर दुध उत्पादन गर्दै आइरहेका छन् । पन्तले मासिक रुपमा १७ देखि १८ लाख रुपैयाँको दुध भक्तपुरस्थित खरीपाटी डेरीमा सप्लाई गर्दै आएका छन् । सञ्चालक पन्तले गाईका लागि आवश्यक विभिन्न १९ प्रकारका घाँसहरु लगाएका छन् । कुनैबेला पाती र सिरु पनि नउम्रने पाखामा गाईको मलमुत्रको प्रयोग गरेर पन्तले हरियाली बनाएका छन् । केन्द्रको हालको लागत ६ करोड बढि रहेको पन्तका छोरा राजिवले बताए । उनका अनुसार गाईको दुध बिक्रिबाट आएको रकम मध्ये ७५ प्रतिशत दाना, चोक्कर, स्टाफ खर्च तथा अन्य खर्च भई २५ प्रतिशत मात्रै फाइदा हुने गर्दछ । यस गाईपालन केन्द्रमा अहिले स्थायी र अस्थायी गरी कुल ३० जना कामदारले रोजगारी पाएको संचालक पन्तले बताए । यस गाईपालन केन्द्रमा पशुपालक कृषक राजेन्द्रराज पन्तलाई उनका जेठा छोरा राजिवराज पन्त, कान्छा छोरा राजकुमार पन्तले अरु जागिर नखाई आफनो बुबालाई साथ दिदै आएका छन् । यो गाइलाई उच्च प्रविधिको नश्लको विर्यबाट गर्भाधान गराउने गरिन्छ । गाईको स्वास्थ्य सुधारको लागि मानिसको जत्तिकै हेरचाह आवश्यक रहेको पन्तको भनाई छ । तर नेपालमा पशुको लागि पनि के उपचार गर्ने भन्ने पुरानो चिन्तन अझै नहटेको उनको भनाई छ । गोरखाका यी किसानबाट पाठ सिकेर सबैले काम गर्ने हो भने नयाँ नेपाल कहिले बन्ला भनेर बाटो हेरिरहनु नपर्ने प्रष्ट छ ।