
मुलुकको प्रमुख नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार कार्यालय साढे दुई महिनाको नाकाबन्दी पछि राजस्व असुली पुरानै अवस्थामा फर्केको छ । भन्सार विभागले बीरगञ्ज भन्सारलाई उठाउनु पर्ने लक्ष्य राजस्व असुलीमा संशोधन गरेपछि पुरानै अवस्थामा फर्केको हो ।
भन्सार विभागले लक्ष्यलाई संशोधन गर्दै चैत महिनामा सात अरब एक करोड ७१ लाख १२ हजार दिएपनि लक्ष्य भन्दा बढी १०६.७९ प्रतिशतले सात अरब ४९ करोड १५ लाख दुई हजार राजस्व असुली गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । भन्सार विभागले संशोधन गरेको राजस्व असुलीको लक्ष्य छ अरब २२ करोड ८३ लाख दिएपनि लक्ष्यको ९१.९७ प्रतिशत पांच अरब ७२ करोड ८४ लाख असुली हुन सकेको र चैत महिनामा संशोधित लक्ष्य भन्दा बढी नै राजस्व असुली भएको वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत लोकराज पन्तले जानकारी दिनुभयो ।
नाकाबन्दी अगाडि विभागले दैनिक ३० देखि ३२ करोड राजस्व असुलीको लक्ष्य दिएपनि त्यसलाई संशोधन गर्दै अहिले २६ देखि २८ करोड असुली गर्नुपर्ने लक्ष्य दिएको भएतापनि संशोधित लक्ष्य अनुसार चैत महिनामा राजस्व असुली पुरा भएको पनि पन्तले बताउनुभयो । नाका ठप्प हुनु भन्दा अगाडि भन्सार विभागले आर्थिक वर्ष २०७२÷०७३ मा एक खरब तिन अरब राजस्व असुलीको लक्ष्य दिएपनि नाकाबन्दीपछि भन्सार विभागले लक्ष्यलाई संशोधन गर्दै वीरगञ्ज भन्सार कार्यालयलाई ७० अरब राजस्व असुलीको लक्ष्य दिएको छ ।
माघ २२ गतेदेखि वीरगञ्ज नाका पुर्ण रुपमा सुचारु भएपनि अरु नाकाबाट आयातकर्ताहरुले आयात गर्नको लागि एलसी खोलेका समानहरु भित्रयाउन थालेको र एलसी खोलीसकेका सामानहरु भित्रिसकेपछि वीरगञ्ज नाकाबाट आयात गर्ने आयातकर्ताहरु फर्किने अधिकृत पन्तले बताउनुभयो । ६० प्रतिशत भन्दा बढी आयातकर्ताहरु फर्किसकेको र अहिले फर्किने क्रम बढेको भन्सार अधिकृत पन्तले भने नया सवारीका साधनहरु नाका सुचारु भएको पहिला भन्दा बढी विस्तारै भित्रिने क्रम बढेको छ