५ बैशाख २०७३, आईतवार

सत्य निरुपण तथा मिलमिलाप आयोगले आइतवारवाट पीडितहरुवाट उजुरी संकलन सुरु गरेको छ । काठमाण्डौ लगायत देशभरिबाट पहिलो दिन आइतवार नै १२५ वटा उजुरी परेका छन ।

beppata

सत्य निरुपण तथा मिलमिलाप आयोगले द्वन्द्वकालमा भएका अमानवीय र कानूनविपरीतका घटनामा उजुरी लिन लागेको हो ।  आयोगले २०५२ साल फागुन १ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्म राज्य तथा तत्कालीन माओवादीबीच भएको द्वन्द्वमा मानव अधिकारका गम्भीर उल्लंघनमा परेकाहरुले घट्नाको उजुरी लिने जनाएको छ ।

पीडितले आउँदो असार २ गतेसम्म उजुरी दिन सक्नेछन् । पीडितले आयोगको सचिवालय तथा देशभरका शान्ति समिति सचिवालयमार्फत उजुरी दिन सक्ने आयोगले जनाएको छ । यस्तै पीडितले चिठ्ठी, इमेल तथा फ्याक्समार्फत र टोल फ्रि नम्बरबाट पनि उजुरी दिन सक्ने व्यवस्था मिलाइएको छ ।

उजुरी परेकै दिनदेखि उजुरीमाथि कारवाही प्रक्रिया अगाडि वढाउने आयोगले जनाएको छ । मेलमिलाप आयोगले ज्यान गुमाएका, मारिएका, घाइते पारिएका, अपहरण गरिएका र अरु यस्तै गम्भीर घटना हेर्नेछ ।

बेपत्ता छानबिन आयोगले हराइरहेका व्यक्तिको सूची बनाउने, उजुरी लिने, अनुसन्धान गर्ने र घटनाको सत्य तथ्य सार्वजनिक गरि दोषीलाई कारबाही गर्न सिफारिस गर्नुका साथै पीडित परिवारलाई परिपुरणको समेत व्यवस्था मिलाउनेछ ।

तीन वर्ष कार्यकाल भएको सत्य निरुपण आयोगले १४ महिनापछि मात्रै पीडितवाट उजुरी आव्हान गरेको हो । अव कार्यकाल सोह्र महिना मात्रै वाँकी रहँदा आयोगले काम सक्ने भन्नेमा भने पीडितहरु ढुक्क हुने अवस्था छैन । आयोगका आयुक्तहरुकावीचमा नै द्धन्दकालका मुद्दा कहाँवाट सुरु गर्ने भन्नेमा विवाद भएपछि उजुरी लिन ढिलाइ भएको हो ।

 

LIVE TV