५ बैशाख २०७३, आईतवार

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधानले स्वाधिन, आत्मनिर्भर र उत्पादनमूलक समाज निर्माण गर्ने उद्देश्य बोकेकाले सरकारले सो उद्देश्य पूरा गर्ने नीति तथा कार्यक्रम र बजेट ल्याउने बताएका छन् ।

Bishnu-Paudel

मन्त्री पौडेलले सोमबार भैरहवामा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन प्रदेश नं ५ का पर्यटन व्यवसायीको भेलालाई सम्बोधन गर्दै समृद्ध नेपाल, आर्थिक विकास र नेपालीको सुखि भविष्य निर्माण गर्न सोहीअनुसारका कार्यक्रम ल्याउन सरकार प्रतिवद्ध रहेको बताए । सरकारले मधेस, पहाड, हिमाल र पूर्वपश्चिमका पछाडी परेका जनताको समृद्धिका लागि विशेष कार्यक्रम ल्याउने उनले जानकारी दिए ।

‘समृद्ध नेपाल निर्माण गर्न कृषि, पर्यटन र जलस्रोतको विकासमा सरकारले लगानीमा कमी हुन दिन्न’ उनले भने । लुम्बिनी क्षेत्र अन्तरराष्ट्रिय लगानीकर्ताको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको बताउँदै मन्त्री पौडेलले लुम्बिनीमा स्वदेशी लगानीकर्तालाई चासो बढाउन अग्रह गरे ।

‘लुम्बिनी गुरुयोजना आगामी दुई वर्षभित्र सम्पन्न हुन्छ,’ उनले भने । लुम्बिनी, तिलौराकोट, रामग्राम, त्रिवेणी, देवदहलगायतसित सम्बन्धित क्षेत्रलाई समेटेर बृहत्तर लुम्बिनी गुरुयोजना सरकारले निर्माण गर्न लागेको मन्त्री पौडेलको भनाइ थियो । ‘संविधान कुनै फलामे चक्का होइन, आवश्यकता परे संशोधन गर्न सकिन्छ, आन्दोलनमा जानुको कुनै औचित्य छैन,’ उनले भने ।

मन्त्री पौडेलले वर्तमान सरकार अहिलेको संसद्बाट बनेको अन्तिम सरकार हुने बताए । उनले वर्तमान सरकारले संविधान र सङ्घियताको कार्यान्वयन गरेर स्थानीय निकाय, प्रादेशिक र सङ्घिय व्यवस्थापिकाको निर्वाचन सम्पन्न गरेर जिम्मेवारी पूरा गर्ने बताए ।

कार्यक्रममा उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले पर्यटन उद्योगलाई व्यवस्थित गरेमा मुलुकले काँचुली फेर्ने बताए । यस क्षेत्रमा रहेका लुम्बिनी, रेसुङ्गा, स्वर्गद्वारी, गौमुखी रिडिलगायतका क्षेत्रमा धार्मीक पर्यटनको विकास र हिमाल, प्याराग्लाइडिङ, बन्जिजम्प, साइकिलिङलगायत पर्यटनको व्यवस्थापन गर्न सके मुलुकमा समृद्धिको ढोका खुल्ने उनले बताए ।

कार्यक्रममा सरसफाइ राज्यमन्त्री दिनेश यादवले समेत आफ्नो भनाइ राखेका थिए । रासस

 

LIVE TV