
पशुपति क्षेत्र विकास कोषले तीन महिनाअघिदेखि पशुपति आर्यघाटमा सुरु गरेको विद्युतीय शवदाह गृहले वाग्मती सफाइमा सहयोग पुग्न थालेको छ ।
कोषले २०७२ साल माघ १० गतेदेखि विद्युतीय शवदाह गृहमा शव जलाउन सुरु गरेको थियो । दाउरामा शव जलाउँदा पशुपति क्षेत्रमा धुवाँको प्रदूषण हुने गरेकामा विद्युतीय यन्त्रमा शव जलाउन थालेपछि हावामा स्वच्छता आएको पशुपति क्षेत्र वरपरका स्थानीयवासीको भनाइ छ ।
‘दाउरामा शव जलाउँदा दाउराका ठुटा र अँगार पनि घाटसँगैको बागमतीमा झर्थ्यो, बागमतीमा फोहर नगरौँ भन्दा पनि केही उपाय हुँदैन थियो, विद्युतीय शवदाहमा शव जलाउन थालेपछि यस क्षेत्रको वाग्मतीमा कम फोहर देखिएको छ,’ कोषका सदस्यसचिव डा. गोविन्द टन्डनले भने ।
अझै दाउराबाट पशुपति आर्यघाटमा शव दाह गर्ने क्रम भने विद्युतीय यन्त्रको अपर्याप्तता र विद्युतीय यन्त्रमा शव जलाउनु पनि हिन्दू संस्कृतिअनुरुप नै हो भनेर सबैलाई बुझाउन नसक्दा रोक्न नसकिएको कोषले जनाएको छ ।
भारतको कलकत्ताबाट ल्याइएका दुई विद्युतीय शव दाह यन्त्र ११ करोडको लागतमा सञ्चालनमा ल्याइएको हो । यस यन्त्रमा हाल सरदर दैनिक १३ शव जलाइन्छ । दाउराबाट शव जलाइने पशुपति र भष्मेश्वरघाटमा भने दैनिक सरदर ५५ शव जलाइने गरेको छ ।
वाग्मती नदी किनारका अन्य स्थानमा रहेका घाटमा पनि विद्युतीय शव दाह यन्त्रको व्यवस्था गरी संस्कृतिअनुसार नै वातावरणीय स्वच्छताका लागि यन्त्रको प्रयोग गर्नु राम्रो हुने जनचेतना जगाउन सके वाग्मती सफाइमा टेवा पुग्ने सफाइका अभियानकर्मी जीवन विज्ञान नेपालका रमेश नेपाल बताउँछन् । रासस