५ बैशाख २०७३, आईतवार

म्याग्दीको कुहुँ ३ का गोविन्द केसीको गाउँलेको भन्दा छुट्टै दैनिकी छ । मेलापात, घरको काम संगै उनले दैनिकजसो मौरीको समेत हेरचाह गर्नुपर्छ । मौरीलाई छोराछोरी जस्तै माया गर्ने गरेका केसीको आर्थिकस्तर पनि मौरीले नै परिवर्तन गरेको छ ।

mauri-palan

बिदेशमा एकदशक पसिना बगाएर फर्किए लगत्तै मौरीपालन ब्यवसायमा सक्रिय भएका केसीले मौरी र मह बेचेर लाखौ आम्दानी गरेका छन् । तिन वर्षअघि इराकबाट फर्किएर मौरी पालन सुरु गरेका ३८ वर्षिय केसी पछिल्लो एक वर्षयता मौरीको गोला र मह बेचेर दुई लाख रुपैया आम्दानी भएको बताउछन् ।

डडुवाबाट तिन वटा घार लगेर मौरीपालन सुरु गरेका केसीसंग अहिले ५० घार मौरी छन् ।  उनले एक वर्षयता १७५ किलो मह एक हजार रुपैया प्रतिकिलोका दरले घरबाटै बिक्री गर्दै आएका छन् । पछिल्लो समय महसंगै उनले मौरीको घार छुट्टाएर मौरी पनि बेच्न थालेका छन् । प्रतिघार मौरी छ हजार ५०० रुपैयाँका दरले बिक्री हुने गरेको छ ।

४ वर्ष साउदी र ७ वर्ष ईराकमा काम गरेर घर फर्कीएका केसी अझै मौरीपालन विस्तार गर्ने योजनामा छन् । एपी सेरेना जातको मौरी पालेका केसीले म्याग्दीमा मौरीपालनको राम्रो सम्भावना रहेको अनुभव समेत सुनाउछन् । धेरै जग्गा जमिन आवश्यक नपर्ने र छिटो आम्दानी गर्न सकिने भएकाले मौरीपालन आयआर्जनका लागि उपयुक्त माध्यम बन्न सक्ने केसीको अनुभव छ ।

 

 

 

LIVE TV