४ बैशाख २०७३, शनिबार

चितवन, पश्चिम चितवनका विभिन्न क्षेत्रमा व्यावसायिक घाँसखेती सुरु गरिएको छ । मङ्गलपुर, शिवघाट तथा विजयनगर क्षेत्रका किसानले व्यावसायिक घाँसखेती सुरु गरेका हुन् ।

chitwan-Ghas
उतपादन लागत घटाउन, पशुको स्वास्थ्यमा सुधार गर्न र दूध उत्पादनमा सहयोग पुग्ने भएपछि व्यावसायिक घाँसखेती गर्न थालेको भरतपुर १९ का किसान दुर्गादत्त गौतमले बताउनुभयो । उहाँले अहिले २५ कठ्ठामा घाँसखेती गर्नुभएको छ ।

उहाँले घाँसखेतीसँगै उन्नत पशुपालनको तरिका पनि सिक्नुभएको छ । आफुलाई घाँसखेती र उन्नत पशुपालनका लागि हेफर ईन्टरनेशनल नेपालले सहयोग गरेको गौतमको भनाइ छ ।

साझेदारी संस्था कृषि तथा बातावरण संरक्षण समिति मार्फत आवश्य प्राविधिक र घाँसको बीउमा सहयोग गरेपछि अहिले पशुपालन र घाँसखेतीमा आमूल परिवर्तन आएको भन्दै गौतम दङ्ग हुनुहुन्छ ।

उहाँकी श्रीमती सुमित्रले पनि घाँसखेतीमा सघाउँदै आउनुभएको छ । “दुबैजना मिलेर काम गछौँं, वर्षमा सात लाख आम्दानी हुन्छ,” सुमित्राले भन्नुभयो, “अहिले घाँसको बीउ बेच्न थालेका छौँं ।”

अहिले यो गाउँमा यसैगरी व्यावसायिक घाँसखेती लगाउने किसान करिब ५० को हाराहारीमा रहेको सहयोगी संस्था कृषि तथा वातावरण समितिका संयोजक धनबहादुर गुरुङले बताउनुभयो । सामान्यरुमपा आफ्नै लागि घाँसखेती गर्ने किसान भने २०० भन्दा बढी छन् ।

यहाँका किसानले अहिले काफल, जुनेल, सिओ थ्री, भटमास, इन्दु, सिमल चिनी, मेन्दोलालगायत जातका घाँसको व्यावसायिकखेती सुरु गरेका छन् । दुर्गादत्त गौतम आगामी वर्ष रु तीन लाख भन्दा बढीको घाँसको बीउ बेच्ने लक्ष्यका साथ काम गरिरहेको बताउनुहुन्छ ।

यहाँ नौ प्रकारका घाँसखेती हुँदै आएको छ । उतपादन गरेको घाँस उपहार सामाजिक उद्यमी महिला सहकारीले खरिद गर्छ । उसले नै व्यवस्थापन गर्नै भएपछि घाँसको बिक्रीका लागि कुनै समस्या छैन । चितवनको मङ्गलपुरकी किसान सावित्री गुरुङ आफूले यो वर्ष ४० हजारको घाँस बीउ बेचेको बताउनुहुन्छ ।

जिल्ला पशुसेवा कर्याालय चितवनका प्रमुख डा रामकुमार कार्की घाँसमा आधारित पशुपालनले उत्पादन लागत घट्ने र आम्दानी पनि राम्रो हुने बताउनुहुन्छ । रासस

 

LIVE TV