डराउनेपोखरी (काभ्रे)। काभ्रेपलाञ्चोकको डराउनेपोखरीस्थित पुरानो हटियामा तीन दिनसम्म बिजुलीबत्ती नआए खानेपानीको हाहाकार हुने गरेको छ । चारसय घर रहेको पुरानो हटियामा पहिलेपहिले गाउँको बीचमा रहेका तीनधारा र नारायण कुवाको पानी प्रयोग गर्दै आएपनि अहिले कुनै धारामा पानी आउँदैन । डराउनेपोखरीका मानिस पानी नआएपछि अहिले सात किलोमिटर तल रोशीखोलाबाट बिजुलीले तानेर पानीको प्रयोग गर्न बाध्य छन् ।
रोशीखोलाबाट एकपटकमा एक लाख लिटरसम्म पानी तान्ने गरेका डराउनेपोखरी हटियावासीले पानी प्रयोगका लागि मासिक ३५० रुपैयाँ तिर्ने गर्दछन् । तीन दिन बत्ती आएन भने बिजुलीबाट खानेपानी तान्न नपाएपछि पानीको हाहाकार हुन्छ ।
तीन दिनसम्म पनि बत्ती आएन र खानेपानीको हाहाकार भएपछि एक घन्टा हिँडेर ठूलोधारा भन्ने ठाउँमा पानी लिन जानुपर्छ । गाँउभरि नै पानी नआएपछि सबै जाँदा एक गाग्रो पानीका लागि तीन÷चार घन्टा लाइन बस्नुपर्ने बताउनुहुन्छ स्थानीय पोडेमाया तामाङ । उहाँ भन्नुहुन्छ, “भूकम्पपछि त गाउँका कुवा र धारामा पानी देख्नै पाइएन ।” त्यहाँका कतिपय जनताले त पानीको समस्याले गर्दा बसाइँसराइ नै गरेका छन् । पछिल्लो समय पानी पर्ने समयमा पानी नपरेपछि पानीको हाहाकार भएको हो ।
पहिलेपहिले प्रशस्त पानी हुने गरेपनि दुई÷तीनवर्ष यतादेखि खानेपानीको समस्या देखापरेको हो । स्थानीयवासी ७० वर्षीय हर्कबहादुर श्रेष्ठले पछिल्लो समय पिउने पानीको समस्या भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “म ७० वर्ष भएँ अहिलेसम्म यो गाउँमा पानीको समस्या थिएन, विगत दुई÷तीन वर्षदेखि पानीको साह्रै समस्या भएको छ, पानी खान नपाएर मरिन्छ कि भन्ने चिन्ता लागेको छ ।”
स्थानीयवासी रामचन्द्र श्रेष्ठले प्रत्येक दिन बिहान आधा घन्टा पानी थाप्ने व्यवस्था भएको र २० मिनेटभन्दा बढी पानी थापे थप ५० रुपैयाँ लिने गरेको गुनासो गर्नुभयो । पानीको समस्या भएपछि डराउनेपोखरी हटियाका मानिसले गाईवस्तुसमेत कम पाल्न थालेका छन् ।
माथि उल्लिखित मानिस त केवल त्यस क्षेत्रका प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय मध्यपहाडी क्षेत्रको अधिकांश स्थानमा पानी सुक्ने समस्या हुने गरेको छ । सो गाउँमा घरदेखि बैठकसम्म पानीको बारेमा छलफल हुने गरेको छ ।
नेपाल खानेपानी संरक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा दीपक ज्ञवालीले मध्यपहाडी क्षेत्रको अधिकांश स्थानमा पानी सुकेको बताउनुभयो । ज्ञवालीले प्रविधिको विकाससँगै धेरै क्षेत्रमा मेसिनबाट पानी तान्ने गर्दा पानी सुकेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय सरकार जबसम्म बलियो हुँदैन तबसम्म पानीको समस्या समाधान हुँदैन ।” प्रतिष्ठानले उक्त क्षेत्रमा गत दुई वर्षदेखि खानेपानीको अध्ययन गरिरहेको छ ।
यस्तै, प्रतिष्ठानले ग्रामीण भेगमा भएका अलिअलि धारा पनि पूरा नसुकुन् भन्नका लागि पोखरी संरक्षण अभियानसमेत थालेको छ । सो क्षेत्रमा रहेका २५० पोखरीमध्ये १४ वटा पोखरीलाई लिएर अध्ययनसमेत गरेको छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का पानी तथा जलवायुविज्ञ डा सन्तोष नेपाल पानीको धारा सुक्न नदिन र दिगो बनाउन पोखरीको संरक्षण गर्नुपर्ने बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “उच्च क्षेत्रमा बोटबिरुवा संरक्षण गर्ने पोखरीको संरक्षण गर्ने हो भने तल्लो क्षेत्रका जनतालाई पानीको समस्या पर्दैन ।” पानीको समस्या कम गर्नका लागि उच्च क्षेत्र र तल्लो क्षेत्रका जनताबीच एकआपसमा सहयोगको भावना हुनु जरुरी छ । रासस