
काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले भूकम्प, भारतीय अघोषित नाकाबन्दी, तराई–मधेसको आन्दोलनका बाबजुद पनि सरकारले ऐतिहासिक उपलब्धि हासिल गरिरहेको बताउनुभएको छ ।
नेकपा (एमाले) दोलखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज यहाँ आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान तथा अन्तक्र्रियामा उहाँले जटिल चुनौतीका समयमा आएको सरकारले ऐतिहासिक उपलब्धि हासिल गर्दै अघि बढेको बताउनुभयो ।
भ्रष्टाचारी र कालोबजारीलाई नियन्त्रण गर्न सरकारले प्रयास गरिरहेको भन्दै उहाँले आवश्यकताभन्दा बढी ग्यास थुपारेर राख्दा खतरा हुने भएकाले आवश्यकताभन्दा बढी ग्यास जम्मा नगर्न आग्रह गर्नुभयो ।
उहाँले दोलखाको लाकुरी डाँडास्थित खरीढुङ्गामा बन्न लागेको ‘चलचित्र नगरी’ को प्रक्रिया अघि बढिसकेको र यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार भित्रिनुका साथै उल्लेख्य रुपमा पर्यटक आउँदा स्थानीयको आर्थिक विकास हुने बताउनुभयो ।
हिन्दू सर्किट र बुद्ध सर्किट निर्माण गरी आगामी पाँच वर्षभित्रमा २६ लाख पर्यटक भित्र्याउने गरी पूर्वाधार तयार सरकारले गरिरहेको उहाँले जानकारी दिनुभयो ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा सांसद पार्वत गुरुङले दोलखाको समृद्धिका लागि चलचित्र नगरी निर्माणका साथै त्यहाँका धार्मिक तथा पर्यटकीय स्थानको प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो ।
कलाकार मदनदास श्रेष्ठले दोलखा पर्यटकीय दृष्टिकोणले उपयुक्त गन्तव्य भए पनि त्यसको पहिचान गरेर विकास गर्न नसकेको हुनाले र पर्याप्त रुपमा त्यसको जानकारीको अभावका ओझेलमा परेको विचार व्यक्त गर्नुभयो । रासस