
सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूले गुटबन्दी नगरेको प्रस्टिकरण दिनुभएको छ । पार्टीमा गतिशीलता प्रदर्शन गर्नपनि उहाँले आग्रह गर्नुभएको छ ।
शुक्रबार केन्द्रीय कमिटी बैठकमा जवाफ दिँदै अध्यक्ष ओलीले माधव नेपाल तथा झलनाथ खनालले लगाउँनुभएको संस्थागत गुटबन्दीको आरोपको कडा शब्दमा प्रतिवाद गर्नुभएको हो ।
नेपाल र खनाललाई लक्षित गर्दै अध्यक्ष ओलीले आफूलाई फर्कीफर्की पुरानो पदमा जान इच्छुक नरहेको उल्लेख गर्नुभयो । लामो समय पार्टीको नेतृत्व गर्नुभएका माधवकुमार नेपाल फेरि अध्यक्षको आकांक्षी देखिएकोतर्फ उहाँले व्यंग्य गर्नुभयो । पार्टी पहिले भन्दा झन् बढी बलियो भएको तर्क गर्दै ओली अनावश्यक वखेडा झिकेर जटिलता नथप्न आग्रह गर्नुभयो ।
सरकारले योजनावद्ध किसिमले आर्थिक एजेन्डाहरुलाई अगाडि बढाएको भन्दै उहाँले पार्टीका तर्फवाट सक्रिय सहयोग दिन पनि सवैलाई आग्रह गर्नुभयो । बिहीबारको केन्द्रीय कमिटी बैठकमा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालले पार्टीभित्र अध्यक्ष ओलीबाटै संस्थागत गुटबन्दी भएको आरोप लगाउँनुभएको थियो । उहाँहरुले पार्टी कार्यालय र सरकार दुवैबाट गुटको मात्रै काम भएको आरोप लगाउँनुभएको थियो ।
आफू पक्षधर प्रतिनिधिहरुलाई मात्र प्रधानमन्त्रीले विदेश भ्रमणमा सहभागी गराइएको गुनासो नेपाल र खनाल पक्षको थियो । अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि सुरु भएको नेता नेपालको आलोचना पार्टी र सरकार सञ्चालनको तरिकामा पुगेर सकिएको थियो । यी सवालबारे अध्यक्ष ओलीले शुक्रबार जवाफ दिनुभएको हो ।