३ बैशाख २०७३, शुक्रबार

खोटाङ, बर्खेटारमा भएको बस दुर्घटनामा ज्यान गुमाएकी खोटाङको निर्मलीडाँडा–३ की विमला राईका आफन्तले उचित राहतको माग गर्दै दिक्तेल–चखेवाभञ्ज्याङ सडक अवरुद्ध पारेका छन् ।
मृतक परिवारलाई बिमाबापतको रकम तत्काल उपलव्ध गराइनुपर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने यातायात व्यवसायी र त्यसको नियमन नगर्ने प्रहरीलाई कारबाही गर्नुपर्नेलगायत माग गर्दै मृतकका आफन्तले शुक्रबार बिहानदेखि सडक अवरुद्ध बनाएका हुन् ।

निर्मलीडाँडाका स्थानीय जनताले सडकका विभिन्न ठाउँमा मुढा, काठ र ढुङ्गा थुपारेर सडक बन्द गराएका छन् । मृतकको शव बुझ्ने क्रममा मृतकको साथमा रहेको गरगहना, नगद र सरसामान नपाएको भन्दै आक्रोशित बनेका आफन्तले सडक अवरुद्ध बनाएका हुन् ।

सडक बन्द गराएका कारण दिक्तेलबाट चखेवा जाने र चखेवाबाट दिक्तेल आउने यात्रुबीच बाटामै अलपत्र परेका छन् । सडक बन्दका कारण दिक्तेलबाट भोजपुरतर्फ जाने यात्रु बढी मारमा परेका छन् ।

मृतकका आफन्तबाट यातायात व्यवसायी खोटाङको गाडीलाई मात्र रोक लगाइएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो ।

अवरुद्ध सडक खुलाउन प्रहरी निरीक्षक सरोज राईको नेतृत्वमा प्रहरी टोली निर्मलीडाँडा पुगेको छ । बर्खेटारमा मङ्गलबार बिहान बस पल्टिँदा २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा ३१ जना घाइते भएका छन् । रासस

 

LIVE TV