
काठमाडौँ, रामनवमीका अवसरमा नेपाल गृहस्थ धर्म सेवा सदनले ५० अनाथ बालबालिकालाई भोजन गराएको छ ।
‘सेवा नै धर्म हो’ भन्ने भावनाका साथ स्थापना भएको सो सदनले आज गोंगबुँ आवास क्षेत्रको गणेश मन्दिरमा भोजन गराएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री एवम् प्रवक्ता राजाराम श्रेष्ठले गृहस्थ धर्म सबैभन्दा पुरानो धर्म भएको बताउनुभयो । उहाँले भन्नुभयो – “नेपालमा बाहिरी देशको इसारामा हिन्दू राष्ट्रको पहिचान मेटाउने काम भएको छ, यो दुःखद कुरा हो ।”
वाल्मीकि क्याम्पसका प्राध्यापक रामहरि दाहालले गृहस्थ धर्म सदनले सामाजिक क्षेत्रमा पु¥याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।
सदनका अध्यक्ष तुलसीराम पोखरेल, गोंगबँु आवास क्षेत्रका अध्यक्ष महेश्वर श्रेष्ठ, डा चण्डिका श्रेष्ठ, मानव सेवा प्रतिष्ठानका अध्यक्ष सुरेश गुप्तालगायतले गृहस्थ धर्म सबैभन्दा पुरानो धर्म भएको भन्दै यसको रक्षा गर्न जरुरी रहेको बताउनुभयो । रासस