२ बैशाख २०७३, बिहीबार

काठमाडौँ, लागुऔषध नियन्त्रण ब्युरोको प्रहरीले लागुऔषध एम्फेटामाइन ३०२ ग्रामसहित दुई जनालाई पक्राउ गरेको छ ।

amfetamine
पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका डेरा गरी बस्ने धादिङ सत्यदेवी गाविस, राकचोकका २६ वर्षीय नेत्र गुरुङ र २१ वर्षीय चित्र तामाङ छन् । काठमाडौँ, बत्तिसपुतलीबाट गत मङ्गलबार पक्राउ परेका उनीहरुलाई ब्युरोले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
निकै महँगो मूल्य पर्ने एम्फेटामाइनको ओसारपसारको घटना नेपालका लागि पहिलो भएको र त्यसको अवैध अन्तर्राष्ट्रिय बजार मूल्य एक ग्रामको रु २० देखि ३० हजार पर्ने ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्द जानकारी दिनुभयो ।

एम्फेटामाइन बच्चाको खेलौना, सुटकेसको डन्डी र क्रिमको डब्बामा लुकाइछिपाइ राखिएको अवस्थामा फेला पारिएको उहाँले बताउनुभयो । औषधि बनाउन प्रयोग गरिने एक किसिमको सहायक रसायनलाई विभिन्न चरणमा घोलेर एम्फेटामाइन बनाइन्छ ।

थाइल्यान्ड, बैंककबाट गत चैत २९ गते उनीहरु काठमाडौँ आएको अनुसन्धानका क्रममा खुलेको छ । अभियुक्त गुरुङ विगतमा पनि थाइल्यान्डबाट फिलिपिन्स तथा म्यान्मा हुँदै फिलिपिन्सको बाटो प्रयोग गरी इन्डोनेसिया, अस्ट्रेलिया लगायत मुलुकमा एम्फेटामाइन तस्करी गर्ने गिरोहमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ ।

एम्फेटामाइन थाइल्यान्डबाट नेपालमा ल्याएर सञ्चय गरी यहाँबाट अन्य देशमा कारोबार गर्नका लागि उनीहरुबाट नेपालको भूमि प्रयोग गर्न खोजिएको अनुसन्धानबाट खुल्न आएको छ । बरामद एम्फेटामाइनकोे अवैध अन्तर्राष्ट्रिय बजार मूल्य नेरु ९० लाख ६० हजार हुन आउने ब्युरोले जनाएको छ । एम्फेटामाइन प्रयोग गर्ने एक इन्जिनियरलाई केही दिनअघि ब्युरोको प्रहरी टोलीले पक्राउ गरेको थियो । रासस

 

LIVE TV