२ बैशाख २०७३, बिहीबार

रसुवा, भूकम्पपछिको पुनःस्थापना सुरु भएपछि हिमाली प्रकृतिको अवलोकन गर्न गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन सङ्ख्या क्रमशः वृद्धि हुँदै गएको छ ।

gosaikunda
लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार नववर्षको सुरुकै दिन ७० पर्यटक निकुञ्ज क्षेत्रमा आगमन भएका कारण यस दोस्रो याममा पर्यटकको आगमन सङ्ख्या निकै वृद्धि हुने सङ्केत देखिएको छ ।

चालु आवको साउनदेखि फागुनसम्म दुई हजार ५२३ पर्यटक आगमन भएका थिए । तीमध्ये सार्कका ३१ र अन्य देशका एक हजार ५४८ जनाको आगमन भएको थियो । चैतको विवरण भने सङ्कलन गर्न बाँकी रहेको बताइएको छ । विगत वर्ष १७ हजार र गत वर्षको वैशाख ११ गतेसम्म १४ हजार पर्यटकको आगमन भएको प्रमुख संरक्षण अधिकृत आचार्यले जानकारी दिनुभयो ।

लाङ्टाङ व्यवस्थापन तथा पुनःनिर्माण समितिका अध्यक्ष पेम्बा लामाले स्याफ्रुबेँसीदेखि लाङ्टाङ खोला किनार र वृद्धिम हुँदै शेर्पा गाउँ रिम्चे, लाङ्टाङ, क्यानजेनसम्म सबै पदमार्ग मर्मत भइसकेकाले सहज रुपले हिँड्न सकिने बताउँदै ठाउँ ठाउँमा होटेल खुलाउने कार्य भइसकेको तथा पर्यटकलाई यथेष्ट सुविधा उपलब्ध गराउन आफ्नो समिति अहोरात्र तल्लीन रहेको जानकारी दिनुभयो । रासस

 

LIVE TV