२ बैशाख २०७३, बिहीबार

काठमाडौँ, नेकपा (एमाले) सोलुखुम्बुका जिल्ला समिति सदस्य लाक्पाघेलु शेर्पाले प्रेस चौतारी नेपालको झन्डा सगरमाथाको चुुचुरोमा फहराउने हुनुभएको छ ।

mt
प्रेस चौतारी नेपालको कार्यालयमा आज चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले शेर्पालाई सगरमाथामा फहराउनका लागि चौतारीको झन्डा हस्तान्तरण गर्नुभएको छ । अर्यालले चौतारीको महाधिवेशनको पूर्वसन्ध्यामा चौतारीको झन्डा फहराउन लागिएकोमा खुसी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

शेर्पाले नेकपा (एमाले)को शुभेच्छुक संस्था चौतारीको झन्डा सगरमाथामा फहराउन दृढ इच्छा रहेको उल्लेख गर्दै “म अहिलेसम्म ११ पटक सगरमाथा चढेँ, यसपटक चौतारीको झन्डा फहराउने भएकोमा ज्यादा खुसी छु,” भन्नुभयो ।

उहाँले सगरमाथा तीन करोड नेपालीको साझा सम्पत्ति भएकाले त्यहाँबाट उठेको रकम विकासमा लगाउनुपर्नेमा जोड दिनुभयो ।

शेर्पा एभरेस्ट परिवार टे«किङमार्फत वैशाख ३ गते त्यसतर्फ जाँदै हुनुहुन्छ भने उहाँले आगामी मे महिनाको पहिलो हप्तादेखि दोस्रो हप्तासम्म सगरमाथा आरोहण गर्दै हुनुहुन्छ । उहाँको अब हुने आरोहण १२औँ हो । उहाँका साथ १० विदेशीसहित १२ जना सगरमाथा चढ्दै हुनुहुन्छ । रासस

 

LIVE TV